काठमाडौं- आजबाट काठमाडौंको भृकुटीमण्डपमा सवारी तथा सवारीजन्य वस्तुहरुको ‘कुम्भमेला’ ‘नाडा अटो शो २०१९’ सुरु हुँदैछ। शोको उद्घाटन अर्थमन्त्री डा युवराज खतिवडाले गर्ने कार्यक्रम छ। अटो शो सवारी किन्नेहरुका लागि उपयुक्त स्थान र समय हुँदै हो भने सवारी बिक्रेताहरुका लागि ठूलो उत्सवसमेत रहिआएको छ।

अटो शो दसैं सुरु हुनु एक महिनाअघि देखि हुने भएकाले सवारी बिक्रेताहरुले वर्षभर बिक्री गर्ने सवारीको करिब ४० प्रतिशत अटो शो तथा दसैंतिहरको समयमा बिक्री गर्ने गरेको व्यवसायीहरुको भनाइ छ।
अटो शोमा उपभोक्ताले एकै ठाउँमा धेरै ब्रान्डका धेरै मोडल हेर्न तथा रोज्न पाउँछन् भने सवारी बिक्रेताले एकै ठाउँमा अधिक उपभोक्ता पाउँछन्। यसले पनि नाडा अटो शो आफैंमा एउटा ब्रान्डको रुपमा नेपाली बजारमा स्थापित भइसकेको छ। उसो त संसारभर हुने अटो शोहरुले आफ्नो ब्रान्ड बनाउने गरेका छन्।
नेपालमा उपलब्ध सबैजसो दुईपांग्रे, चारपांग्रे सवारी र सवारीजन्य उत्पादन नाडा अटो शोमा प्रदर्शनी हुँदै आएको छ। सवारी खरिद गर्ने उपभोक्ताहरुका लागि पनि अन्य समयको तुलनामा केही सस्ता र विभिन्न उपहार योजनाहरु पाइने हुँदा यो नै उपयुक्त समय मानिन्छ। यही सहभागिता र बिक्रीको हिसाबले पनि नाडा अटो शोलाई सवारी तथा सवारीजन्य वस्तुको कुम्भमेला भनिएको हो।
व्यवसायी तथा उपभोक्ताको सहभागिता नै नाडा अटो शोको मुख्य विशेषता भएको अटो नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहाल बताउँछन्। ‘अटो शोमा सवारी बिक्रेता तथा उपभोक्ता आमनेसामने हुन्छन्। त्यहाँ सवारी कम्पनीहरुले उपभोक्तालाई आफ्नो उत्पादनबारे भरपुर जानकारी दिन्छन्,’ दाहालले भने, ‘उपभोक्ताले आफ्नो चाहना र रोजाइ अनुसारको सवारी खरिद गर्न सक्छन्।’
नयाँ-नयाँ ब्रान्डका कार तथा मोटरसाइकल र मोडल भित्रिनु अटो शोको अर्को विशेषता भएको दाहालको भनाइ छ। सवारी कम्पनीहरु जसरी नयाँ र परिष्कृत मोडलका सवारी ल्याउँछन्। उपभोक्ताहरु पनि त्यही अनुसार बुझेर आउन थालेको व्यवसायीहरुले बताए।
सवारी किन्नेका लागि मात्र नभई सवारीसम्बन्धी अध्ययन गर्न चाहने व्यवस्थापन, अटोमोबाइल इन्जिनियरिङ लगायतलाई समेत अटो शोले फाइदा पुर्याउने नाडाका महासचिव सुनिल रिजालले बताए। उनले थपे, ‘अटो शोले उपभोक्तालाई पनि सवारीबारे पूर्ण ज्ञान लिई आफ्नो रोजाइमा रहेको सवारी खरिद गर्ने अवसर दिन्छ।’
अटो शोबाट व्यवसायीले मात्र नभई अन्य धेरै पक्ष लाभन्वित हुन्छन्। अटो शोले समग्र अटो उद्योग नै मोविलाइज हुने व्यवसायीहरुको भनाइ छ। यो अर्थमा पनि नाडा आटो शो सवारीका लागि नेपाली कुम्भमेला नै हुनेगरेको छ।
अटो शोमा नेपालमा उपलब्ध सबै कम्पनीलाई समावेश गर्न सकिने अवस्था स्थान अभावका कारण नरहेको नाडाको भनाइ छ। तथापि अधिकांश कम्पनीहरुलाई समावेश गर्न कोसिस गरिएको आयोजकले बताएको छ।
भृकुटीमण्डपमा भदौ १० देखि १५ गतेसम्म हुने अटो शोमा दुईपांग्रे र चारपांग्रे गरि ४१ वटा ब्राण्डका सवारी कम्पनीले सहभागिता जनाएका छन्। स्थान अभावका कारण गत वर्षदेखि नाडाले अटो शोमा कमर्सियल सवारीलाई सहभागी गराउन छाडेको छ।
मेलामा सवारी साधनको प्रदर्शनीका साथै सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस, टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसोसेरिज कम्पनीहरूको पनि सहभागिता रहनेछ। नाडा अटोमाबाइल एसोसिएसन अफ नेपालले सवारी, पार्टपुर्जा तथा यससँग सम्बन्धी एसोसिरिजहरुको प्रदर्शनी नाडा अटोमा वर्षेनी गर्दै आएको छ।
जसमा नेपालमै उत्पादित सामाग्रीहरू समेत राखिने छन्। यो वर्ष बैंक तथा वित्तीय संस्थाहरुको समेत सहभागिता रहेको छ। अवलोकनकर्ताहरूको सुविधालाई लक्षित गर्दै र व्यवस्थापनमा समेत सहज हुने भएकाले दुईपांग्रे, चारपांग्रे तथा वित्तीय संस्थाहरूको लागि छुट्टाछुट्टै स्थान निर्धारण गरिएको छ।
नाडाले आठौं संस्करणदेखि मेला वर्षेनी गर्न थालेको हो। त्योभन्दा अघि हरेक दुई वर्षमा गर्दै आएको थियो। यसले पनि उपभोक्तामा सवारीको महत्व बढ्दै भएको व्यवसायीहरुले बुझेको प्रष्ट हुन्छ। अटो शोमा व्यवसायीहरुले उपभोक्ता आकर्षित गर्न विभिन्न उपहार, स्किम, डोर प्राइजलगायत योजना ल्याउने गरेका छन्, जुन अन्य समयमा पाइँदैन।
अटो शोमा निम्न कुरामा ध्यान दिनुहोस्
विश्वमा अटो शो भन्नेबित्तिकै सबैको ध्यान तानेकै हुन्छ। मध्यम र उच्च परिवारको लागि विशेषगरी अटो शोमा आकर्षण गर्न छुट तथा नयाँ-नयाँ सवारीको समेत सार्वजनिक गरिन्छ। नेपालमा पनि प्रत्येक वर्ष नाडा अटो शो हुने गरेको छ। दुईपांग्रे देखि चारपांग्रे सवारीका उपभोक्ताहरु अटो शोमा गाडी खरिदको लागि विभिन्न योजना बनाइरहेका छन्।
तपाईं यदि अटो शो अवलोकन गरी सवारी खरिद गर्दै हुनुहुन्छ भने निम्न कुरामा ध्यान दिनुहोस्-
कस्तो सवारी खरिद गर्ने योजना बनाउनुहोस्
सबैभन्दा पहिले तपाईं गाडी खरिद गर्ने योजना बनाएर अटो शोमा जाँदै हुनुहुन्छ भने आफूले खरिद गर्ने सेगमेन्टका गाडी अझै सक्नुहुन्छ भने ब्रान्डसमेत पहिले नै छान्नुपर्दछ।
यदि पहिले छान्न सक्नुभएन भने अटो शोमा कुन मोडलका कस्ता-कस्ता गाडीहरु राख्दैछन् जानकारी लिनुहोस्। अटो शोमा पुगेरै छान्न खोज्दा धेरै मोडल र ब्रान्ड हुने भएकोले अलमलिन सक्नुहुन्छ।
धेरै समय छुट्याएर जानुहोस्
अटो शोमा हेरेर फर्कनेगरी भन्दा पनि आफूले खरिद गर्ने गाडीको ‘टेस्ट ड्राइभ’समेत गर्नेगरी समय निकाल्नुहोस्। सकेसम्म सबै स्टलहरु हेर्नुस्।
यदि समयले साथ नदिएमा आफूले खरिद गर्ने ब्रान्डको स्टलमा जान सक्नुहुन्छ वा अटो शोको अवलोकनबाटै तपाईंले खरिद गर्ने सवारीको अन्तिम निर्णय लिन पनि सक्नुहुन्छ। धेरै स्टलहरु हुने भएकोले समय पर्याप्त चाहिने हुन्छ।
तयारीसहित जानुहोस्
तपाईंले खरिद र हेर्न चाहेका सवारीको बारेमा अध्ययन र तयारी गरेर जानुहोस्। मोडलहरुको सकेसम्म फोटो वा फिचरहरुको बारेमा अध्ययन गरेर जानुहोस्। त्यसो गर्दा तपाईंलाई अटो शोमा झनै सजिलो हुन्छ। साथै आफूले खरिद गर्ने गाडीको बजेटको बारेमा समेत अध्ययन गरेर जानुहोस्। जसले गर्दा सवारी छनोटमा तपाईंलाई थप सहजता थपिन्छ।
परिवारसँग छलफल गर्नुहोस्
अटो शोमा सवारी खरिद गर्नुभन्दा पहिले आफ्नो परिवारसँग छलफल गर्नुस्। एक्लैको निर्णय गलत पनि हुनसक्छ। परिवारमा आफ्ना बालबच्चाको समेत रुचीको ख्याल गर्नुस्, जसले परिवारिक सुख प्राप्ति हुन्छ।
शोका अन्य गतिविधिमा समेत सहभागी हुनुहोस्
अटो शो गइसकेपछि सवारीसहित, लुब्रिकेन्ट, स्पेयर पार्ट्स् तथा बिमा र अटो लोनका विषयमा समेत जानकारी लिनुहोस्। साथै सडक सुरक्षाका बारेमा समेत जनचेतना कार्यक्रम हुने भएकोले उक्त कार्यक्रममा समेत सहभागी हुनुहोस्, जसले सडक अनुशासनका विषयमा तपाईंले बुझ्ने मौका पाउनुहुन्छ।
धेरै प्रश्न गर्नुहोस्
अटो शोमा गइसकेपछि आफूले खरिद गर्न लागेको सवारीको बारेमा प्रर्दशकहरुसँग धेरै प्रश्न गर्नुहोस्। जसले गर्दा तपाईंलाई सवारीका फिचरको बारेमा धेरै जानकारी प्राप्त हुन्छ।
(सबै तस्बिरहरु नाडा अटो शो २०१८ का हुन् र अटो शोको फेसबुक पेजबाट लिइएका हुन्।)



