राम्रो घर पाएँ, साह्रै खुसी लागेको छ, दशकौं बाख्राको खोरमा बिताएकी बर्दिबास १ की १०३ वर्षीया मरनी सादाले नयाँ घरको बरन्डामा बसेर धुर्मुस-सुन्तलीसँग खुसी साट्दै भनिन्, पहिला बाख्रा बाँध्ने ठाउँमा सुत्थें, बाबु। पानी पर्दा छानो चुहिन्थ्यो। जाडोमा न्यानो ओछ्यान र ओढ्ने थिएन ।
आगो तापेर रात काट्थें। तपाईंहरूले मजस्ती बूढीका लागि जाडो र झरी छल्ने घर बनाइदिनुभयो। नयाँ वर्ष २०७४ सँगै करोडौं नेपाली आपसमा सुख, समृद्धि, शान्ति, विकास र उन्नतिको शुभकामना आदानप्रदान गरिरहँदा मरनीको दुखिया जीवनले पनि अब बाँचुन्जेल खोरबाट मुक्ति पाएको छ।
बाख्राको खोरमा सयभन्दा बढी वसन्त काटेकी उनले धुर्मुस-सुन्तलीको पहलमा निर्मित नयाँ पक्की घर पाउँदाको खुसी बखान गरी साध्य छैन। धुर्मुस-सुन्तलीले आफ्नै स्वामित्वको घरमा नयाँ पहिरनमा प्रवेश गराउँदाको क्षणमा बुढ्यौलीले मुजा परेको मरनीको मुहारको चमक नै बेग्लै थियो।
मुहारको त्यो चमकले उनको मात्रै होइन, मुसहर बस्तीका पुस्तौंदेखि रोग, भोक र अशिक्षाले थलिएका ५५ मुसहर परिवारका बालदेखि वृद्धसम्मले अनुभूति गरेको साझा खुसीको प्रतिनिधित्व गरेको थियो। पिछडिएको मुसहर समुदायका लागि धुर्मुस-सुन्तली फाउन्डेसनले एकीकृत नमुना मुसहर बस्तीको नाम दिएर एउटै डिजाइन, रंग र उस्तै जस्तापाताले छाएका घर निर्माण गरेपछि बस्तीका सबै दंगदास छन्।
मरनीलाई गाउँलेले साइकलमा ल्याएर नयाँ घरमा गृह प्रवेश गराए। उखरमाउलो गर्मीको रापलाई उनले आफ्नो घरको खाटमा सुम्सुम्याउन आइपुगेको चिसो बताससँगै मनभरी खुसी र आनन्द भर्दै लखेटेको अनुभूति गरिन् । उनी नयाँ घरमा सर्दा गाउँमा मेला नै लाग्यो।



