रैथाने एकता परिषद्ले स्थानीय तहको निर्वाचनमा रैथाने नागरिकलाई मात्र उम्मेदवार बनाउन राजनीतिक दलहरुसँग माग गर्दै अंगीकृत नागरिकलाई उम्मेदवार बनाए भण्डाफोर गर्ने चेतावनी दिएको छ । परिषदले शनिवार बीरगञ्जमा पत्रकार सम्मेलन गर्दै भारतबाट आएर नागरिकता लिनेहरुले मधेसमा हालीमुहाली गरी रैथाने मधेसीहरुमाथि शासन गरेको जनाउँदै चुनावमा रैथानेलाई मात्र उम्मेदवार बनाउन सबै पार्टीहरुलाई आग्रह गरेको हो ।
‘भूमिपुत्र मधेसी नेपालीहरुलाई अल्पमतमा पारेर भारतबाट आएर अंगीकृत नागरिकता लिनेहरुले मधेसमा हालीमुहाली गरिरहेका छन्’ परिषद्का संयोजक सन्तोष बराईलीले भने, ‘त्यसैले हामीले स्थानीय तहको उम्मेदवार यहाँका रैथाने मधेसीलाई मात्र बनाउन आग्रह गरेका छौं ।’ उनले अंगीकृतलाई उम्मेदवार बनाए त्यसको भण्डाफोर गरिने पनि चेतावनी दिए ।
‘अंगीकृत नागरिकता खुकुलो बनाएर हामीमाथि विदेशीले शासन गर्न खोजेका छन्, यस्तो हुन दिंदैनौं’ बराईलीले भने, ‘अंगीकृतलाई उम्मेदवार बनाए हामी भण्डाफोर अभियान चलाउँछौं ।’ परिषद्ले नेपाल पत्रकार महासंघ पर्साको कार्यालयमा शनिवार पत्रकार सम्मेलन आयोजना गरेको थियो ।



