५ वैशाख । वर्लड्लिङ्क कम्युनिकेशनस प्रालिले सन् २०२० सम्म नेपालका दश लाख घरमा विश्वस्तरीय ‘फाइवर टु द होम नेटवर्क सेवाको विस्तार गर्ने योजना लिएको छ । कम्पनीले नेपालका मुख्य शहर, शहरोन्मुख वस्ती तथा जनघनत्व धेरै भएका ग्रामीण वस्तीहरूलाई लक्षित गर्दै छिटो, भरपर्दो र आमनागरिकले उपभोग गर्न सक्ने इन्टरनेट सेवा तथा इन्टरनेट प्रोटोकलका माध्यमद्वारा प्रदान गरिने अत्याधुनिक प्रविधिमा आधारित टेलिभिजन सेवा पनि प्रदान गर्ने लक्ष लिएको छ । हाल, उच्चस्तरीय इन्टरनेट सेवालिने एक लाख प्रयोगकर्ता भएको यस कम्पनीले ३० वटा शाखा तथा ६० वटा सम्पर्क कार्यालयबाट देशको ६३ जिल्लाहरुमा आफ्नो सेवाविस्तार गरेको बुझिएको छ ।
यस कम्पनीले भरपर्दो, विश्वसनीय र सस्तो इन्टरनेट सेवा प्रदान गर्न लागेको २१ वर्ष पुगेको पनि कम्पनीले जानकारी दिएको छ । इन्टरनेट सेवा विस्तारका लागि पहिले नै ३ अर्ब रूपैयाँ लगानी गरिसकेको यस कम्पनीले आगामी तीन वर्षमा यो लगानी रकम बढाएर ७ अर्ब पुर्याउने लक्ष्य लिएको छ ।
यस प्रयोजनका निम्ति वल्र्डलिङ्कले तीन प्रमुख अमेरिकन कम्पनीहरू जुनिपर नेटवर्क, नोकिया नेटवर्क तथा सिस्को सिस्टमसँगको सहकार्यमा नेपालमा पहिलोपटक ‘१०० जीबीपिएस’ भन्दा धेरै क्षमता भएको आन्तरिक नेटवर्क काठमाडौं उपत्यका तथा देशका प्रमुख शहरमा विस्तार गरिरहेको छ ।
हाल उपलब्ध प्रविधिहरू मध्ये सबै भन्दा उपयुक्त‘फाइवर टु द होम’ सेवा घर–घरमा पुर्याउने लक्ष्यका साथ क्लाइन्ट इण्ड अप्टिकल नेटवर्क टर्मिनल (इल्त्क) तथा अप्टिकल लाइन टर्मिनलका लागि नोकिया नेटवर्क कम्पनीसँग सम्झौता भइसकेको पनि कम्पनीले जानकारी दिएको छ । नोकिया ( पहिले अल्काटेल लुसेन्ट ) अप्टिकल नेटवर्क प्रविधिमा विश्व बजारको नेतृत्व गरेको सबै भन्दा लोकप्रिय कम्पनी हो ।
वल्र्डलिङ्कले नेट टिभीसंगको सहकार्यमा ४० भन्दा वढि एचडी च्यानल सहितको गुणस्तरीय आइपी टिभी सेवा, एक हप्ता पुरानो रेकर्डेड कार्यक्रम हेर्न पाउने व्यवस्थाका साथै मोबाइल, ट्याबलेट तथा ल्यापटप जस्ता फरकफरक स्क्रिनहरूमा पनि हेर्न सकिने गरि अरु गलोवल ओभर द टप कन्टेन्ट सेवाको विस्तार गरेको छ ।



