
नेपाली कांग्रेस इलामले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार तय गर्ने शिलशिलामा नेताहरुले ‘राम्रो मान्छेलाई भन्दा आफ्नो मान्छे’लाई प्रश्रय दिन लागेपछि तालाबन्दीको सामना गर्नु परेको छ ।
वैशाख ३१ गतेका लागि निर्धारित निर्वाचनका लागि उम्मेदवारी चयन गर्न उद्योग वाणिज्य संघको कार्यकक्षमा नेपाली कांग्रेस जिल्लाको बैठक बसेको थियो । तर जिल्ला समितिका नेताहरुले गुट अनुसार भागवण्डा गरेर उम्मेदवार बनाउने कसरत गरेको थाहा भएपछि कार्यकर्ताहरुले आज बिहान तीन घण्टासम्म उनीहरुलाई थुनेका हुन् ।
स्थानीय तहको निर्वाचनमा नेताका नजिकका मान्छे र गुटको भन्दा लोकप्रिय जनमतको छवि भएका उम्मेदवार चयन गर्न सुझाव दिइए पनि नेताहरु गुटकै पछि लागेको थाहा पाएपछि छलफल गरिरहेको स्थलमा तालाबन्दी गर्नु परेको सहभागी कार्यकताहरुले सञ्चारकर्मीलाई बताए ।
मुख्यतः इलाम नगरपालिकामा उम्मेदवार चयनका विषयमा कांग्रेस नेताहरुबीच विवाद भएको एक कार्यकताले जानकारी दिए । नेताको शैलीका विरुद्ध कडारुपमा प्रस्तुत भएका उनीहरुले ‘भागवण्डा अन्त्य गरौं’ ‘भागवण्डा गर्ने नेता मुर्दावाद’ जस्ता नारा अंकित प्लेकार्ड बनाएर नेताहरुलाई भित्र थुनेर बाहिर खबरदारी गरेका हुन् ।
घटनाका विषयमा नेपाली काँग्रेस इलाम, निर्वाचन क्षेत्र नं ३ का सभापति नुतनदेव दुलालले ताला लगाइएको स्वीकार गर्दै घटनाको लगत्तै कार्यकर्ताले ताला खोलिलिएको प्रष्ट पारे । उनले त्यहाँ उपस्थित पत्रकारहरुलाई पार्टीको छलफल र आन्तरिक घटनाको विषयमा समाचार नलेखिन दिन आग्रह गरेका छन् ।
तर, उनी सञ्चारकर्मीलाई नै धम्क्याउने शैलीमा प्रस्तुत भएकाले घटनालाई बाहिर ल्याउनु दायित्व सम्झिएर समाचार लेखेको हाम्रा समाचारदाताले जनाएका छन् ।
साझा मञ्चबाट



