प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति कुनै पनि हालतमा सार्न नसकिने बताएका छन् । उनले भने,‘वैशाख ३१ मै चुनाव हुन्छ, हुनुपनि पर्छ र मिति सार्न सकिँदैन ।’ शनिबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा यादवले बैशाख ३१ को स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नसर्ने र तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने दाबी गरेका हुन् । उनले भने,‘वैशाख ३१ गते निर्वाचन हुन्छ, अब यो मिति सर्दैन, आयोगले सम्पूर्ण तयारी गरिसकेको छ, निर्वाचन सामग्रीहरु मतदान केन्द्रमा पुगिसकेका छन्, यस्तो अवस्थामा निर्वाचनको मिति सार्न सकिँदैन ।’
उनले आयोगले बैशाख ३१ गतेको निर्वाचनका लागि आवश्यक सबै सामग्री जुटाइसकेको जनाउँदै अब निर्वाचनको मिति सर्ने कुनै सम्भावना नरहेको प्रष्ट्याए । उनले भने,‘निर्वाचनको सुनिश्चितता भइसक्यो, आयोगका परिसरमा आएर हेर्दा पनि थाहा हुन्छ, निर्वाचनको तयारी कहाँ पुग्यो भनेर ?, त्यसैले अब ३१ गतेको निर्वाचन सर्दैन, मिति फेरबदल हुँदैन ।’ यद्धपि उनले केही ठाउँमा कुनै कारणले मिति सार्नुपर्ने भए पनि सरकारले आयोगसँग सल्लाह गर्नुपर्ने बताए ।
यादवले भने,‘कुनै ठाउँमा निर्वाचन सार्नुपर्ने भएपनि सरकारले निर्वाचन आयोगसँग सल्लाह गर्नुपर्छ, सारे पनि कति दिन सार्ने हो ? समयावधि कति हो ? कुनकुन विषयलाई लिएर सार्ने हो ? यस्तो विचारनीय कुरा आयोगसँग छलफल गरेर मात्रै गर्नुपर्छ ।’
निर्वाचनको लागि आवश्यक मतदाता नामावली, मतदाता परिचयपत्र, मतपत्र, मसी र सुरक्षा सामाग्री लगायत आवश्यक सामाग्रीहरु सम्बन्धित स्थानमा पुर्याउन ढुवानीको काम सुरु भएको जानकारी दिँदै यादवले भने,‘११ वटा उच्च हिमाली जिल्लामा हेलिकप्टरमार्फत र बाँकी जिल्लामा पूर्ण सुरक्षाका साथ ट्रकबाट सामाग्रीहरु ढुवानी हुन्छ ।’ निर्वाचन आयोगको कामकारवाही देखेर निर्वाचनको सुनिश्चितता भएको भन्दै संयुक्त राष्ट्र संघका उच्च प्रतिनिधिहरुले पनि नेपालको डेमोक्रेसी ईन अपरेसन भनेर प्रशंसा गरेको उनको भनाई थियो ।
निर्वाचनलाई सफल रुपमा सम्पन्न गर्नका लागि आयोगले ज्यादै मिहेनतका साथ काम गरिरहेको जानकारी दिँदै यादवले भने,‘हरेक विहान नयाँ समस्याहरु आउँछन्, जुनसुकै समस्या आएपनि त्यसलाई समाधान गर्ने क्षमता आयोगसँग छ।’ उनले आयोगले गर्नुपर्ने कामहरुमा केही समस्या आए समाधान गर्न आयोग तयार र सक्षम रहेको दाबी गरे ।
उनले शनिबारमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नो भेटवार्ता भएको जानकारी दिए । प्रधानमन्त्री दाहालले निकासको लागि दलहरुसँग आफूले पहल गरिरहेकोबारे आफूलाई जानकारी दिएको यादवले बताए । त्यस्तै सुरक्षाको पूर्ण तयारी भैसकेको समेत उनले बताए । यादवले भने,‘यसपालिको निर्वाचनको सुरक्षा ७० को भन्दापनि उच्च स्तरको छ, वडा, गाउँदेखि सबै ठाउँमा सुरक्षा पुर्याउने तयारी भएको छ ।’



