जनआन्दोलनका घाइते मुकेश कायस्थकी आमा मिरा छोरो उठेर ‘गुड मर्निङ मामु’ भन्ने आसमा हरेक बिहान एकतमासले हेर्छिन् । उनले मुकेशलाई यसरी हेर्न थालेको ११ वर्ष बितिसक्यो । मुकेशजस्ता दुई दर्जनभन्दा बढी युवायुवतीले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लािग ज्यान दिए । कोही अशक्त बने, कोही जीवन–मरणसँग संघर्ष गर्दागर्दै धर्तीबाट अस्ताए, कोही जीवन–मरणकै संघर्षमा छन् ।
बनेपा नगरपालिका–६ का मुकेश जीवन–मरणसँग जुधिरहेका होनाहार पात्र हुन् जनआन्दोलन–२ का । मुकेशमा घरमा उनका बुबाआमा छन् तर उनीहरूसँग खुसी छैन । एकोहोरो हेरेर बस्ने छोरालाई आफूले पनि एकोहोरो हेरर बस्नुबाहेक परिवारसँग विकल्प नै छैन ।
मुकेशको जीवनको पीडा गणतन्त्रपछिका कुनै पनि सरकारले बुझ्न सकेन, जति उनको परिवारले खेपिरहेको छ । प्रधानमन्त्री र मन्त्रीहरू झन्डा फहराउँदै उनको घरमा अर्धचेत अवस्थामा ओछ्यानमा सुतिरहने मुकेशलाई पटक–पटक भेट्न आए, आश्वासन दिएर फर्किए । कोही मन्त्री ‘बाटो परेको’ ले बाध्य भएर मुकेशलाई भेट्न बाटोमा सुरक्षाकर्मी उभ्याएर उनको घर गए । तर, उनको परिवारको अन्तरमनलाई जाँच्ने प्रयास कसैले गरेन ।
देश आन्दोलनमा होमिँदा मुकेश १५ वर्षका थिए । उनी १२ वर्षदेखि ओछ्यानमा सुतिरहेका छन् । ‘२७ वर्षे छोरा बोलचाल, हिँड्डुल गर्न नसक्दा उनकी आमाको मन कति कँुडिएको होला, कसैले अन्दाज नै गर्न सक्दैन,’ मुकेशकी आमा भन्छिन् । चाडबाड आउँदा नयाँ लुगा लगाइदिएर सँगै आफन्तकहाँ धाउँदा उनका आमाबाबु खुसी हुन्थे । त्यो खुसी चुँडिएको ११ वर्षसम्म जोडिन नसक्दा पीडा हुने गरेको मुकुशकापरिवार बताउँछन्, आजको राजधानीमा खबर छ ।



