भारतीय सञ्चार माध्यमले नेपालमा हुन लागेको स्थानीय तहको निर्वाचनमा भारतीय नागरिकले मतदान गर्ने समाचार सम्प्रेसण गरेका छन् । ती सञ्चार माध्यमका अनुसार नेपालमा हुने स्थानीय तहको निर्वाचनमा भारतीय नागरिकले मतदान अधिकार पाउने छन् ।
आसन्न स्थानीय तहको निर्वाचनका विषयलाई लिएर आन्तरिक रुपमा विवाद भइरहेका बेला हालै दलहरुबीच भएको सहमतिलाई हवाला दिँदै सिएनएन न्युज १८ले भारतीय नागरिकले नेपालमा हुन लागेको निर्वाचनमा मतदानको अधिकार पाउने दाबी गरेको हो ।
यही वैशाख १० गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको सहमतिको हवाला दिँदै सिएनएन न्युज १८ले भारतको बिहार र उत्तर प्रदेशका भारतीय नागरिकले नेपालमा हुन लागेको स्थानीय निर्वाचनमा मतदान गर्न पाउने उल्लेख गरेको हो ।
सात महिना लामो तराई केन्द्रित दलको आन्दोलनपछि नेपाल सरकारले संविधान संशोधन गरी भारतीयलाई मताधिकार दिने तयारी गरेको सो सञ्चार माध्यमले दाबी गरेको हो ।
साथै स्थानीय तह हुँदै संसदीय संसदीय निर्वाचनमा पनि भारतीय नागरिकले मतदानमा सहभागी हुन नेपालको संविधान संशोधनल बाटो खोल्ने सिएनएन न्युज १८ले बताएको छ ।
नेपालमा हुने निर्वाचनमा भारतीय नागरिकले मतदान गर्ने अधिकार पाउने विषयलाई नेपालको मन्त्रिपरिषद्बाट पारित भइसकेको सिएनएन न्युज १८ले दाबी गरेको छ ।



