काठमाडौं, १५ वैशाख । नेपाल प्रहरीका डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेश गरेको कार्य सम्पादन मूल्यांकन कागजात किर्ते भएको पाइएको छ । सरकारले प्रहरीको विज्ञान प्रयोगशालाको प्रतिवेदनसँगै उक्त दावीसहितको दस्तावेज सर्वोच्च अदालतमा शुक्रबार पेश गरेको छ ।
मन्त्रिपरिषदले प्रकाश अर्याललाई महानिरीक्षकमा नियुक्त गरेपछि सिलवालले कार्यसम्पादन मूल्यांकनमा आफ्नो अंक बढी रहेको भन्दै सर्वोच्च अदालतमा रिट हालेका थिए । सरकारले रिटसँगै सिलवालले पेश गरेको कार्यसम्पादन मुल्यांकनको प्रतिलिपि फर्जी भएको दाबी गरेको हो ।
सिलवालले अदालतमा पेश गरेको र सरकारसँग भएको कार्यसम्पादन मूल्यांकनमा फरक परेपछि प्रहरीको अपराध अनुसन्धान विभाग अन्तरगतको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अध्ययन गरेको थियो ।











