बिष्णुप्रसाद पोखरेल
दमक, बैशाख ६ गते । सरकारले बिद्यालय बाहिर रहेका तथा पढाइबाट बञ्चित बिद्यार्थीहरुलाइ खोजिखोजि बिद्यालयमा भर्ना गर्नका लागि भर्ना अभियान चलाइरहेकाबेला झापाको एउटा सरकारी बिद्यालयका शिक्षकहरु भने अभिभावकको फोन थेग्न नसकेर मोवाइल ‘स्वीच अफ’ गरेर बस्न बाध्य भएकाछन् । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सहितका सदस्यहरुले नयाँ मोवाइल नम्बर लिएकाछन् ।
झापाकै नमुना बिद्यालयको रुपमा रहेको हिमालय माध्यमिक बिद्यालयमा बिद्यार्थीहरुको चाप थेग्न नसकेर र बिद्यार्थी भर्नाका लागि दबाब आएर मोवाइल नै अफ गर्नु पर्ने अवस्था आएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तिर्थराज बस्नेतले बताउनु भयो । बिहानदेखि बेलुका अबेरसम्म फोन उठाउदैमा ठिक्क हुने र अरु केहि काम नभ्याइने भएकाले मोवाइल अफ गरेर बस्नु परेको र अत्यआवश्यकीय कामका लागि नयाँ अर्को नम्बर लिइएको उहाँको भनाइ रहेको छ ।
नयाँ भर्नाका लागि सबै कक्षाहरुमा गरेर १ सय ५० जनाको सिट रहेको तर अहिले १२ सय ५० भन्दा बढिको भर्नाका लागि निवेदन परिसकेको ब्यवस्थापन समितिका अध्यक्ष बस्नेत बताउनु हुन्छ । निवेदन परेका सबै बिद्यार्थीहरुको प्रवेस परिक्षा र अन्तरवार्ता लिएर छनौट परेका ब्याक्तिहरुलाइ मात्र भर्ना लिइने तयारी गरेको बस्नेतले जानकारी दिनु भयो ।
सबैको निवेदन लिइएको र अब चाडै नै प्रवेस परिक्षा लिएर सिट अनुसार बिद्यार्थीहरुको भर्ना लिइने उहाँको भनाइ छ ।
सरकारी भएपनि यस बिद्यालयमा भर्नाका लागि ‘सोर्सफोर्स’ लगाउनु पर्ने अवस्था नै आएको अभिभावकहरु बताउछन् । यस बिद्यालयमा आउने अधिकाँश बिद्यार्थीहरु दमक र आसपासका सुबिधा सम्पन्न र नाम चलेका नीजि
बिद्यालयहरुमा पढिरहेका बिद्यार्थीहरु पनि रहेकाछन् । बिद्यालय ब्यवस्थापन समितिका एक सदस्यका अनुसार भर्ना खुलेपछि आफ्ना छोरीछोरी तथा आफन्त यस बिद्यालयमा भर्ना गर्नका लागि थुप्रै ‘सोर्सफोर्स’ आउने गरेका छन् । कतिपय गर्नै पर्ने अवस्था आउने र तर सोर्सफोर्सलाइ सकेसम्म अस्वीकार गर्ने गरिएको ति सदस्यले बताए ।
यस बिद्यालयमा बिद्यार्थी तथा अभिभावक भर्नाका लागि जसरी लाग्ने गरेकाछन् त्यसरी नै ब्यवस्थापन समितिमा आउनका लागि राजनीतिक दलहरुबीच तछाडमछाड हुने गरेको पाइन्छ । ब्यवस्थापन समितिका अध्यक्ष बस्नेतले ब्यवस्थापन समिति निर्माणको क्रममा राजनीति भएपनि बनिसकेपछि यहाँ कुनै आस्था र बिचारबाट काम नहुने गरेकाले बिद्यालय नमुना बनेको हो ।



