समसामयिक परिस्थितिबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार बिहान नौ बजे राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् ।
संसदको आइतबारको बैठक सूचना टाँस गरी चार दिनका लागि स्थगित भएपछि आइतबार नै राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहालसँग पछिल्लो परिस्थितिबारे जानकारी लिन चाहेको वताइएको छ । यही बीचमा प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध कांग्रेस र माओवादीले संयुक्त रुपमा महाभियोग दर्ता गरेका छन् भने स्थानीय चुनावमाथि संशय पैदा गर्न गृहमन्त्री निधिको राजीनामा मार्फत सफल भएका छन् ।
महाभियोग दर्तापछि पार्टीका विभिन्न नेताहरुसँग भएका छुट्टा छुट्टै भेटमा परिस्थिति बदलिएकाले देउवालाई सत्ता नछाड्ने सुझाव दाहालले प्राप्त गरेका छन् । यस अवस्थामा राष्ट्रपतिसँगको आज हुने भेटमा के कुरा गर्छन् भनी चासो बढेको छ ।
महाभियोग दर्तापछि कांग्रेस र माओवादी दुवैको राजनीतिक धरातल अझ कमजोर भएकाले चुनावमा जान अनिच्छुक रहेको विश्लेषण हुन थालेको छ । महाभियोग संसदमा प्रस्तुत भए फेल हुने, हस्ताक्षर गर्ने सांसदहरुले फिर्ता लिने लगायतका सम्भावना बढेपछि कतै दाहालले संसद नै विघटन गर्ने सिफारिस गर्ने हुन् कि भन्ने आशंका बढेको छ ।



