काठमाडौँ । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकाहरुले चुनाव चिह्नको अभावमा प्रचारप्रसार गर्न नपाएको गुनासो गरेका छन् । संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट उम्मेदवारहरुले चुनाव चिह्न पाएर प्रचारप्रसार गर्न थाले पनि स्वतन्त्रतर्फका उम्मेदवारले भने चुनाव चिह्न नपाएपछि खुलेर प्रचारप्रसार गर्न नपाएको भन्दै मुर्मुरिएका छन् ।
निर्वाचन आयोगले उनीहरुलाई शुक्रबार चुनाव चिन्ह दिने कार्यतालिका राखेको छ । प्रचार गर्न ढिला भइसकेकाले अहिले चुनाव प्रचारमा के चिह्न लिएर जाने भन्नेमा उनीहरु अन्योलग्रस्त छन् । स्वतन्त्र उम्मेदवारले प्रचारप्रसारका लागि सामग्री समेत बनाउन पाएका छैनन् । काठमाडौँ महानगरका प्रमुख पदका स्वतन्त्रतर्फका उम्मेदवार अमोत महर्जनले चुनाव चिह्न नहुँदा भोट माग्ने आधार नभएर प्रचारप्रसार गर्न नसकिएको गुनासो गरे ।
महानगरबाटै उपप्रमुख पदका स्वतन्त्रतर्फका उम्मेदवार जेनिशा भट्टराईले चुनाव चिह्न नपाएर प्रचारमा जान नसकेको गुनासो गरिन् । “अहिले उपप्रमुखको उम्मेदवारमा बनेको छु भनेर प्रचार त गरेको छु” उनले भनिन्, “उम्मेदवार मनोनयनसँगै चुनाव चिह्न पाएको भए प्रचार गर्न सजिलो हुने थियो ।”
संसद्मा भएका २६ दललाई मात्र निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ । नयाँ दर्ता भएका पार्टीलाई पनि आयोगले स्वतन्त्र चुनाव चिह्न दिन थालेको छ । साझा पार्टी, विवेकशील नेपाली दललगायत पार्टीले पनि स्वतन्त्रतर्फबाट उम्मेदवार दिएका छन् ।
आयोगले बिहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ र शुक्रबार स्वतन्त्रतर्फका उम्मेदवारलाई चुनाव चिह्न दिनेछ ।



