भारतले नेपालमा हुन गइरहेको स्थानीय तह निर्वाचनलाई स्पष्ट रुपमा समर्थन गरेको छ । उसले निर्वाचनलाई सफल पार्न आवश्यक सवै सहयोग गर्न तयार रहेको पनि स्पष्ट पारेको छ, आजको राजधानीमा खबर छ ।
भारतले नेपालमा हुन लागेको स्थानीय तहको निर्वाचनबारे स्पष्ट रुपमा समर्थन गरेको वा बोलेको यो नै पहिलोपटक हो । नेपालमा ३१ वैशाख र ३१ जेठ गरी दुई चरणमा निर्वाचन हुँदैछ । पहिलो चरणको निर्वाचनको मनोनयनमा राजनीतिक दल र जनताको उत्साहप्रद सहभागिता देखिएको भोलिपल्टै भारतले निर्वाचनलाई समर्थन गरेको हो ।
भारतले यसअघि नेपाल सरकारले गरेका प्रयासमा आफ्नो समर्थन रहने अस्पष्ट धारणा व्यक्त गर्दै आएको थियो । समाजका सवै तहलाई समेटेर संविधान कार्यान्वयन गर्न पनि उसको सुझाव रहने गथ्र्याे ।
भारतीय विदेश मन्त्रालयमा बुधबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता गोपाल वागलेले स्थानीय निर्वाचन कुनै पनि प्रजातन्त्रको महत्वपूर्ण औजार भएको र यसले स्थानिय तहको प्रजातन्त्रलाई अझ सुदृढ बनाउने धारणा राखे । उनले नजिकको छिमेकी मुलुकले माग्ने जुनसुकै सहयोगमा आफूहरु सकारात्मक रहेको पनि बताए ।



