काठमाण्डौ – चीनमा तीव्ररुपमा फैलिरहेको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या लगातार बढिरहेको छ ।
काेराेनाका कारण चीनमा मात्रै २० हजार चार सयभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । त्यस्तै हङकङमा फेरि १५ जना, मकाओमा आठ जना र ताइवानमा १० जनामा सङ्क्रमण देखिएको छ ।
चिनियाँ अधिकारीहरुका अनुसार कोरोना भाइरसका कारण चीनमा अहिलेसम्म कम्तीमा चार सय २५ जनाको ज्यान गैसकेको छ । ६ सय ३२ जना उपचारपछि ‘डिस्चार्ज’ भएको दाबी गरिएको छ ।
चीन बाहिर फिलिपिन्समा पनि केही दिनअघि एक जनाको ज्यान गैसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ ।
चीनमा एकैदिन तीन हजारभन्दा बढीमा सङ्क्रमण देखिएको र सोमबारमात्रै ६४ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् ।
चीनभन्दा बाहिर २४ देशमा गरी अहिलेसम्म एक सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि भैसकेको छ ।
कोरोना भाइरसमा ज्यान गुमाउनेको सङ्ख्या सन् २००२–०३ मा सार्स भाइरसका कारण ज्यान गुमाउनेभन्दा धेरै भैसकेको छ । चीन र हङकङमा फैलिएको ‘सार्स’ भाइरसका कारण तीन सय ४९ जनाको ज्यान गएको थियो ।
यसैबीच अमेरिकाले कोरोना भाइरसलाई लिएर त्रास फैलाइरहेको चीनले आरोप लगाएको छ ।
अमेरिकाले कोरोना भाइरसको प्रकोपलाई लिएर सार्वजनिक स्वास्थ्य आपतकालको घोषणा गरेको छ । साथै अमेरिकाले पछिल्ला दुई हप्तामा चीन भ्रमण गरेका विदेशी नागरिकलाई अमेरिका प्रवेश गर्न नदिने बताएको छ ।
चीनको विदेश मन्त्रालयले अमेरिकाको फैसलाले डरको वातावरण सिर्जना भएको बताएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङ्गले भने, ‘अमेरिकाले सहयोग गर्नुको साटो डर फैलाइरहेको छ ।’



