(झापा), २४ वैशाख । छात्रामाथि अनैतिक व्यवहार गरेको भन्दै कनकाई नगरपालिकाको एउटा विद्यालयका शिक्षकलाई विद्यालय व्यवस्थापन समितिले आज निलम्बनका लागि जिल्ला शिक्षा कार्यालयलाई सिफारिस गरेको छ ।
कनकाई नगरपालिका–९ घैलाडुब्बास्थित आदर्श विद्या मन्दिर उच्चमाध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोला ढुङ्गेलले कक्षा ६ मा अध्ययनरत छात्रामाथि अनैतिक व्यवहार गरेको भन्दै अभिभावकले उजुरी गरेपछि विद्यालय व्यवस्थापन समितिले उनलाई निलम्बनको सिफारिस गरेको हो ।
शिक्षक ढुङ्गेलले अनैतिक व्यवहार गरेको भन्दै छात्राले शिक्षिकालाई बताएपछि सो घटना सार्वजनिक भएको थियो । घटना सार्वजनिक भएपछि आजदेखि विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको प्रधानाध्यापक योनदेन सुनुवारले बताउनुभयो ।
छात्रामाथि अनैतिक व्यवहार गर्ने शिक्षक ढुङ्गेल फरार रहेका छन् । उनलाई विद्यालयमा झिकाएर कारबाहीको माग गर्दै अभिभावकले आज विद्यालयमा तालाबन्दी समेत गरेका छन् । अभिभावकले शिक्षक ढुङ्गेलमाथि कानुनी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय घैलाडुब्बामा उजुरी दिएका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिनुभयो । रासस



