काठमाडौंः एसीसी इस्टर्न रिजन पुरुष टी–२० कपमा मलेसियाले नेपाललाई १ सय ५५ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो ।
उसका लागि सायद अजीज मुबारकले अविजित ५१, मोहम्मद अनवर अरुद्दिनले ३१, अहमद फैजले ३० र अमीनुदिन रम्ली २९ रन बनाए । बलिङमा नेपाली टीमका सन्दीप लामिछानेले ३, अविनाश बोहराले २ र करण केसीले एक विकेट लिए ।
प्रतियोगिताको सबैभन्दा बलियो टोलीको रुपमा रहेको नेपाल आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै राम्रो सुरूवात गर्ने लक्ष्यमा छ । उता मलेसिया पनि नेपाललाई प्रतियोगितामा मलेसिया पनि नेपाललाई हराएर सुखद सुरूवात गर्न चाहन्छ ।
नेपाल र मलेसियाको हाल सम्मको टी–२० खेलको नतिजा हेर्ने हो भने सात पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल बलियो देखिएको छ । नेपालले ६ खेलमा जित हात पारेको छ भने मलेसियाले १ खेल जितेको छ ।
सन् २००७ को कुवेतमा भएको एसीसी टी–२० कपमा नेपालले मलेसियासँग पहिलो पटक खेलेको थियो । सो खेलमा नेपालले २१ रनको जित निकालेको थियो ।
प्रतियोगितामा नेपाल र मलेसियासहित थाइल्यान्ड, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन् । राउण्ड रोबिन आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।
मलेसियाविरुद्ध नेपालको प्लेइङ ११ः ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुसल मल्ल, विनोद भण्डारी, पवन सरार्फ, सन्दीप लामिछाने, करण केसी, अविनाश बोहरा र सुशन भारी ।
बेन्चः सन्दीप जोरा, भुवन कार्की र किशोर महतो ।



