यहाँ मतदाता फकाउने परम्परागत शैली ‘भोज’ हो । तर यसको धार्मिक मान्यता पनि छ । प्रचलनअनुसार त्यो खसी देवताको थानमा चढाइन्छ र त्यसको मासु प्रसादस्वरुप खाइन्छ । जसले एक टुक्रा पनि मासु खान्छ, उसले खसी राखिदिनेलाई भोट दिनुपर्छ भन्ने मान्यता छ । त्यसलाई चलनचल्तीको भाषामा ‘मानमनितो’ भनिन्छ ।
प्रायः सबै उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्दा मतदाता रिझाउन ‘मानमनितो’ का लागि खसी बाँध्ने र देवताको माडु (मन्दिर) मा धजाखुटो (भेटी) चढाउने गर्छन् ।
‘मानमनितो’ संस्कृतिको प्रभाव बुझेका माओवादी केन्द्रबाट सिमकोट गाउँपालिकामा अध्यक्षका उम्मेदवार महेन्द्रबहादुर शाही पनि के कम, उनले त झन् आफ्नै गाउँ डाँडाफया र सिमकोटमा गरी ४ वटा खसी राखेका छन् ।
अहिले पनि हुम्लामा नाम र राशि मिल्नेसँग मीत लगाउने चलन छ । त्यसमा पनि अलिक राजनीतिक चेत हुनेले त मतदाता सुरक्षित गर्न धेरै जनासँग मीत लगाउने गर्छन् । भौगोलिक विकटता र सडक सञ्जाल नभएका कारण उम्मेदवार आफैंले सबैतिर घरदैलो नभ्याउने भएकाले त्यस्ता ‘मीत’ हरू उम्मेदवारको कोसेली बोकेर घरदैलो गर्छन् । त्यसैले हुम्लामा मीत लगाउनुको अर्थ अब सांस्कृतिक मान्यता मात्र रहेन, चुनावका बेला त्यसको राजनीतिक महत्व पनि बढ्न थाल्यो ।
उत्तरी क्षेत्रमा खासै चहलपहल नदेखिए पनि हुम्लाको दक्षिणी भेगमा चुनावी रौनक तातिएको छ । बाजुरा जिल्लाको सीमाना नजिक पर्ने अदानचुली गाउँपालिका वडा नम्बर १ कल्खेका प्रायः घर माओवादी र एमालेका झण्डाले राताम्य छन् ।
कल्खे थापा गाउँकी ६७ वर्षीया माङ्गली थापा भोट माग्नेको ताँती देखेर हैरान छन् । दिनमा चार(पाँच वटा भोट माग्ने टोली आउन थालेपछि दिक्क भएकी माङ्गलीले भनिन्, “एईपाली भोट माग्न्याले त अचाक्ली गन्न अँट्या । न घर भित्त निझर्को गरी खाना खान पाइदो छ, न त घरको काम गन्न पाइदो छ ।
(यसपटक भोट माग्न आउनेहरूले त अचाक्ली नै गरे । न घरभित्र झर्को नमानी बस्न पाइएको छ, न घरको काम गर्न) ।”
नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका टोली छिनछिनमा माइकिङ गर्दै भोट माग्न गाउँ आउने गरेको अदानचुली(२ का बुध भण्डारीले बताए । हुम्ला सदरमुकाम सिमकोटका सबैजसो घरका भित्तामा चुनावी पोष्टर टाँसिएका छन् । चोक, गल्ली, होटल र पसलमा निर्वाचनको मात्रै चर्चा छ । कुन गाउँपालिकामा कुन दलको उम्मेदवारले जित्ला भन्ने अड्कलबाजी हुन थालेको छ ।
राजधानीसँग जोडिएर पनि विकट रहेको हिमाली जिल्ला रसुवामा पनि चुनावी भोज(भतेर शुरू भइसकेको छ । भोज(भतेरको संस्कृति रसुवाका लागि पनि सामान्य हो । चुनावी प्रचारका क्रममा दलहरूले भोजभतेर गरेर भोट माग्न थालेका छन् । यहाँ धेरथोर पैसाको पनि चलखेल हुन्छ । रसुवा सरमथलीका एक मतदाता भन्छन्, “चुनाव हो, गाउँमा भैंसी, बोका, खसी काटेर भोज त लगाइन्छ । पहिला पहिला त दैनिक ज्याला तोकेर प्रचारप्रसारमै हिंडाइन्थ्यो ।” उनका भनाइमा अलिक हुनेखाने उम्मेदवारले पैसा पनि बाँड्छन् ।
मान्छे हेरेर दैनिक १ हजारदेखि ३ हजारसम्म दिएर प्रचारप्रसार गराउने चलन पहिल्यैदेखिको हो । पछिल्लो समय भोजभतेर र पैसाका पछि लाग्नुहुन्न भन्ने युवा पंक्ति पनि तयार हुँदैछ गाउँमा ।
दोस्रो चरणमा चुनाव हुने पूर्वको हिमाली जिल्ला सोलुखुम्बुमा त भोज गर्न चुनाव नै कुर्नुपर्दैन । शेर्पा संस्कृतिमा खादा लगाउने, भोज खाने र नाचगान गर्ने परम्परा नै छ । नेपाल तरुण दल सोलुका अध्यक्ष अशोक झा चुनावका बेलामा पनि स्थानीय संस्कृतिमा आधारित भएर दलहरूले कार्यक्रम गर्ने बताउँछन् ।
ठाउँ(ठाउँमा राँगा, खसी काट्ने, भोज खाने परम्परागत चलन यहाँ अहिले पनि छ । मीत लगाएर भोट माग्ने चलन यहाँ पनि रहेछ । झा भन्छन्, “पकड हुनेहरूले मीत लगाउने चलन छ । बलबहादुर दाई (कांग्रेस नेता बलबहादुर केसी) कै पनि यहाँ थुप्रै मीत छन् ।”
गाउँ पसेन चुनाव
उम्मेदवारी मनोनयन र चुनावको मिति बीच प्रचारका लागि समय छोटो छ । दलबाट टिकट लिएर मनोनयन दर्ता गराएपछि मात्रै उम्मेदवारको धपेडी शुरू हुन्छ । भौगोलिक विकटता र सडक सञ्जाल नहुनुजस्ता कारणले सदरमुकाम ताते पनि हिमाली जिल्लाका ग्रामीण भेगलाई भने अहिलेसम्म पनि चुनावले छोइसकेको छैन । सिमकोटबाट साढे एक घण्टा पैदल दूरीको नल्ना गाउँका ६५ वर्षे आस्या कामीलाई अहिलेसम्म चुनावले छोएकै छैन । सदरमुकामसँगै जोडिएको खार्पूनाथ गाउँपालिकाको ५ नम्बर वडाका बासिन्दा उनलाई अहिलेसम्म एकजनाले पनि ‘चुनाव आयो, भोट हाल्नुपर्छ’ भनेको छैन ।
सिमसिमे पानीमा गहुँबारीमा झार उखेल्दै गरेका आस्याले भने, “चुनावका बारेमा केही थाहा छैन । कोही सिकाउन पनि आएका छैनन् ।”
नल्नाकै ६१ वर्षे दूधकला कामीलाई अहिलेसम्म प्रचारप्रसारका लागि कोही नआएकाले ‘३१ वैशाखमा चुनाव नहुने पो हो कि’ भन्ने शंका छ । ४ मंसीर २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा एक महीना अघिदेखि नै गाउँमा तडकभडक थियो ।
सदरमुकाम सिमकोटदेखि १० कोस उत्तरको नाम्खा गाउँपालिकाको खगाल गाउँमा पनि अहिलेसम्म निर्वाचनको प्रचारप्रसार शुरु नभएको ६५ वर्षे सोनाम ग्याल्जन लामा बताउँछन् । गाईगोरु चराउँदै गर्दा मेलामा भेटिएका लामाले भने, “गाउँघरभरि चुनाव आयो भन्ने हल्ला छ तर अहिलेसम्म भोट माग्ने नेताको टोली गाउँ आइपुगेकै छैन ।” साविकमा २७ गाविस भएको हुम्ला नयाँ संरचना अनुसार ७ गाउँपालिकामा सीमित भएको छ ।
दोस्रो चरणमा भनेर मिति धकेलिएपछि पूर्वको हिमाली जिल्ला सोलुखुम्बुमा चुनाव प्रचारप्रसारको गति सुस्ताएको छ । राजनीतिक दलहरूको दौडधूप घटेको छ भने जिल्ला निर्वाचन कार्यालय पनि सुनसान छ । हिजो जति उत्साह थियो चुनाव ठ्याक्कै एक महीना पछि ३१ जेठका लागि धकेलिएपछि त्यसमा कमी आएको छ । आन्तरिक गुटबन्दीका कारण कांग्रेस र एमालेले नगरपालिकासहित केही गाउँपालिकामा अहिलेसम्म पनि उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता भएका खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, नेपाल मजदूर किसान पार्टी जस्ता दलका त जिल्लामा नेता भेट्टाउनै मुश्किल पर्छ ।



