इच्छाकामना गाउँपालिकाको वडा नम्बर ४ लेवाटारस्थित पृथ्वी राजमार्गबाट त्रिशुली नदीमा मालबाहक ट्रक खसेको छ । दुर्घटनामा घाइते दुईजनालाई प्रहरीले उद्धार गरेकोे छ । ट्रक पानीमा डुबेकोले केही व्यक्ति हराएकाे हुन सक्ने प्रहरीको अनुमान छ ।
काठमाडौँबाट हेटौँडा गइरहेको ना ५ ख नौ नौ चार छ नम्बरको ट्रक बिहान ७ बजे त्रिशुली खसेको हो । चितवनका एसपी दीपक थापाका अनुसार, ट्रक राजमार्गदेखि करिब ६० मिटर तल त्रिशुलीमा खसेको छ ।
ट्रक खस्ने क्रममा उछिट्टिएर भिरमा झरेका हेटौँडा उपमहानगरपालिका–१४ का २० वर्षीय सुरज मगर र २१ वर्षीय सोनाम लामाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा नेपाल प्रहरी र विपत् व्यवस्थापन गण कुरिनटारका सशस्त्र प्रहरी परिचालन गरिएको छ ।



