बैशाख । मंगलबार दोलखाको जुगुमा माओवादीले हत्या गरेका एमाले कार्यकर्ता कुलबहादुर तामाङको परिवारले आज जिल्ला प्रहरी कार्यालय दोलखामा पूर्वराज्यमन्त्री देवी खड्का र माओवादी दोलखाका सहइन्चार्ज विशाल खड्काविरुद्ध किटानी जाहेरी दिएको छ । देवी खड्का सहित १ सय ५० जना विरुद्ध पीडित परिवारले जाहेरी दिएका छन् । एमालेको तर्फबाट गौरीशंकर गाउँपालिकाको वडा नम्बर १ का वडा सदस्यका उम्मेदवार गोरे तामाङका छोरा कुलबहादुर सहितका कार्यकर्तालाई माओवादीका नेता तथा पूर्वराज्यमन्त्री देवी खड्का र सहइन्चार्ज विशाल खड्काको नेतृत्वमा गएको जिल्ला बाहिरका पेशेवर गुण्डाहरुले राति खाना खाइरहेको अवस्थामा अन्धाधुन्ध छुरी र भाला प्रहार गरेका थिए ।
निहत्था एमाले कार्यकर्तालाई घेरा हाली भालाले रोपी रोपी पूर्वराज्यमन्त्रीको निर्देशनमा हत्या गरिएको एमाले केन्द्रीय सदस्य पार्वत गुरुङले बताएका छन् । मंगलबार बेलुका दोलखाको गौरीशंकर गाउँपालिकाअन्तर्गत वडा नं. २ जुुगुमा माओवादीका नेता तथा पूर्व राज्यमन्त्री खड्काको नेतृत्वमा भएको आक्रमणबाट एमाले कार्यकर्ता कुलबहादुर तामाङको हत्यापछि सो गाउँ शोकमग्न बनेको छ । माओवादी आतंकबाट पूरै गाउँ भयभीत बनेको स्थानीय वासिन्दाले बताएका छन् । सोही माओवादी आक्रमणमा परी गम्भीर घाइते भएका दिलबहादुर बुढाथोकी अहिले काठमाडौं ल्याई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक सेवामा उपचाररत हुनुहुन्छ । टाउकोमा धारिलो चोट लागेका बुढाथोकीको अहिले होस खुले पनि बोल्न सकिरहनुभएको छैन । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उहाँ हाल खतरामुक्त अवस्थामा हुनुहुन्छ ।



