काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार चितवन जाने हुनुभएको छ । बिहान ११ बजे चितवनको भरतपुर महानगरपालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्ने देउवा र दाहाल चितवन जान लाग्नुभएको हो ।
स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरमा माओवादी र कांग्रेसको तालमेल भएको छ । तालमेलअनुसार भरतपुर महानगरको मेयरमा प्रधानमन्त्री दाहालपुत्री रेणी दाहाललाई कांग्रेसले सघाउने छ भने नेपाली कांग्रेसकी उपमेयर उम्मेदवार पार्वति शाहीलाई माओवादीले सघाउने छ ।
स्थानीय तहको पहिलो निर्वाचनको प्रचारप्रस्तारको अन्तिम दिन बिहीबार शीर्ष नेताहरुले विभिन्न जिल्लामा हुने चुनावी सभामा भाग लिने भएका छ ।
निर्वाचन आयोगले आज राति १२ बजे देखि ४८ घण्टाको मौन अवधि तोकेको छ ।
यसैबीच देउवाले लमजुङको सुन्दरबजार नगरपालिका तथा काठमाडौंको असन र बूढानीलकण्ठमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहालले दिउँसो नागार्जुन र साँझ कीर्तिपुर नगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आज चुनावी प्रचारको अन्तिम दिन भएकाले नेकपा एमाले अध्यक्ष केपी ओलीले पनि आज भरतपुरमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भरतपुर र पोखरा-लेखनाथ महानगरमा कांग्रेस र माओवादीबीच तालमेल भएपछि एमालेले यी दुवै महानगरलाई प्रतिष्ठाको विषय बनाएको छ । मध्यान्ह आयोजना हुने कार्याक्रम मा ओली अन्य पार्टीका नेताहरुसंग भरतपुर जाने कार्यक्रम तय भएको छ । त्यस्तै, नेता रामचन्द्र पौडेलले आज लमजुङको मध्यनेपाल तथा तनहुँको शुक्लागण्डकी र भिमाद नगरपालिकाका सभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।
केन्द्रीय सदस्य शेखर कोइराला पोखरामा र कल्याण गुरुङ चितवनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैबीच- नयाँ शक्ति पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकाको चुनावी सभाहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै, राप्रपा अध्यक्ष कमल थापाले आज गृहजिल्ला मकवानपुरमा हुने सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अन्नपूर्ण पोस्ट बाट



