नेपाल कम्युनिस्ट पार्टीका सुनसरी जिल्ला सेक्रेटरी (डीसीएस) उदय राईसहित दर्जन जिल्ला तहका नेता तथा कार्यकर्तालाई प्रहरीले शुक्रबार साँझ गिरफ्तार गरेको छ ।
शान्तिपूर्ण रुपमा चुनाव खारेजी अभियानमा रहेका अवस्थामा उनीहरुलाई गिरफ्तार गरिएको सुनसरी संवाददाताले जानकारी दिएका छन् । सेक्रेटरी राईसहित पक्राउ पर्नेहरुमध्ये जिल्ला नेता सुरज राई, सुरेश राईको मात्र नाम खुल्न आएको छ ।
बरह नगरपालिकाको भरौलबाट उनीहरुलाईअाज साँझ गिरफ्तार गरिएको नेकपा सुनसरीले जनाएको छ । गिरफ्तार उनीहरुलाई अहिले महेन्द्रनगर प्रहरी कार्यालयमा राखिएको छ ।
गिरफ्तार भएका अन्यको नाम खुल्न सकेको छैन । शान्तिपूर्ण रुपमा राजनीतिक कार्यक्रम संचालन गरिरहेका बेला राज्यले गैरकानुनी रुपमा गिरफ्तार गरेको भन्दै नेकपा सुनसरीले आपत्ति जनाएको छ । साथै गिरफ्तार सबै नेता कार्यकर्तालाई बिनासर्त अविलम्ब रिहा गर्न माग गरेको छ ।
रिहा नगरे कडा संघर्ष घोषणा गर्ने पनि उसले जनाएको छ । साथै गिरफ्तार नेता कार्यकर्ताको अवस्था बुझेर वास्तविकता सार्वजनिक गर्न पनि जोडदार माग गरेको छ । र, चुनाव खारेजी अभियानलाई सहयोग गर्न जनसमुदायसँग अपिल गरेको छ । अन्लाईनडबली बाट सभार



