१. चीनको उहानमा पहिलो संक्रमण देखिएको निकै पछि अमेरिकामा संक्रमण देखिएको हो । जनवरी १९ मा वासिंगटनमा पहिलो कोरोना संक्रमण भएको पुष्टि भएको थियो । त्यसपछि विस्तारै अरु राज्यहरुमा पनि फैलिँदै गयो । तर अमेरिकी प्रशासनले लामो समयसम्म घटनाक्रमलाई बेवास्ता गरिदियो ।
२. कोरोना संक्रमण देखिएको र थुप्रै राज्यहरुमा फैलिएपछि मार्च २२ मा बल्ल राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय विपत्ति घोषणा गरेका थिए । त्यसपछि उनले प्रतिबन्धलाई ४ मेसम्म बढाएका थिए ।
३.चीनले बाहिरबाट आउने र भित्रिने सबै उडानहरु रोक्दासम्म त्यहाँबाट ४ लाखभन्दा बढी मानिस अमेरिका छिरिसकेका थिए । अमेरिकाले विदेशबाट आउने जहाजहरुलाई रोक्न निकै ढिला गरेको थियो । त्यतिमात्र होइन १६ मार्चसम्म अमेरिकाले सबै देशरुबाट आउने आवागमनलाई रोक्न सकेन । निकै पछि चीनबाट आउने जहाजहरुलाई रोकेपनि मानिसहरु अन्य देश हुँदै अमेरिका छिरिरहेका थिए । त्यसमा युरोपबाट छिर्नेहरुको संख्या पनि उल्लेख्य रह्यो ।
४. १४ मार्चमा कोरोना संक्रमणका कारण न्युयोर्कमा पहिलो मृत्यु भएको थियो । यद्यपि, त्यहाँका गभर्नरले ७ मार्चमै आपतकालको घोषणा गरेर सबैलाई घरमै बस्न निर्देशन दिएका थिए । तर त्यसलाई त्यहाँका मानिसहरुले गम्भीरताका साथ लिएनन् र अनियन्त्रित हुँदै गए । मानिसहरुको सोही अराजकताको परिणामस्वरुप २३ मार्चमा एउटा तस्बिर अमेरिकामा भाइरल भयो । गभर्नरले आपतकाल घोषणा गरेकै बीचमा न्युयोर्कको एउटा तटमा सयौं मानिसहरु भेला भएको उक्त तस्बिरले राज्यलाई थर्कमान बनाइदियो । त्यसपछि लकडाउनलाई थप कडा बनाउन गभर्नरले आदेश दिए ।
५. चीनमा कोरोना महामारी तिव्ररुपमा फैलिरहेका बेला अमेरिकाले त्यहाँ थुप्रै व्यक्तिगत सुरक्षा उपकरण दियो । अमेरिकाले चीनलाई सहयोग गरिरहँदा उक्त भाइरस युरोप हुँदै संसारका थुप्रै देशमा फैलिइसकेको थियो । त्यसपछि पनि अमेरिकाले बढ्दो घटनाक्रमको ख्याल गरेन । सुरुमा अरु देशलाई सुरक्षा सामाग्री बाँडेको अमेरिकाले अन्तिममा आफ्नोमा आपत पर्दा सुरक्षा उपकरणहरु जोहो गर्न ध्यान दिएन, अहिले त्यहाँ सामाग्रीको व्यापक अभाव देखिँदै गएको छ ।
६. त्यस्तै अर्को महत्वपूर्ण कुरा भनेको राज्यका गभर्नरहरु र स्वास्थ्य विभागका शीर्ष विशेज्ञहरुसँग राष्ट्रपति ट्रम्पको अन्तरविरोध बढ्नु । राष्ट्रपति ट्रम्पले उनीहरुको विचारलाई बेवास्ता गरिदिनाले महामारीको उचाई घट्नुको साटो बढिरहेको देख्न सकिन्छ । अमेरिकाका विशेषज्ञ डाक्टर फोसेसँग राष्ट्रपति ट्रम्पको टकराव बढ्नुनै यसको ज्वलन्त उदाहरण हो । न्युयोर्क लगायतका राज्यका गभर्नरहरुसँग पनि उनको निकै ठुलो टक्कर जारी छ ।
७. राष्ट्रपति ट्रम्पले कोरोना महामारीसँग अमेरिकी प्रशासनले विजय प्राप्त गर्ने कुरा लगातार बताउँदै आएका छन् । उनले यसबाट कुनै खतरा छैन भन्ने अभिव्यक्ति दिँदै आएका छन् तर मृत्यु हुनेको संख्या आधा लाखको हाराहारी पुगिसकेको छ । यसमा ट्रम्प प्रशासनले सतही विश्लेषण गरेकोले अवस्था गम्भीर हुँदै गएको प्रष्ट हुन्छ ।
८.महामारी विरुद्ध मिलेर लड्नुको साटो राष्ट्रपति ट्रम्प विश्व स्वास्थ्य संगठनको विरुद्धमा खनिदै आएका छन् र सो संगठनलाई उपलव्ध गराउँदै आएको आर्थिक सहयोग रोक्ने निर्णय गरेका छन् । उनले विश्व स्वास्थ्य संगठनलाई चीनतर्फ ढल्किएको आरोप समेत लगाउँदै आएका छन् । यसले पनि ट्रम्प प्रशासन महामारी विरुद्धको लडाइँमा केन्द्रीत हुनुको साटो बाहिरी अन्तरविरोधमा फसेको देखिन्छ । जसले अमेरिकी जनतालाई थप कष्टकर परिस्थितितर्फ धकेलिदियो ।
९.राष्ट्रपति ट्रम्पले निकै समय कोरोना भाइरसको उत्पतिको विषयमा चीनसँग टक्कर गरे । अहिले पनि उनको टक्कर जारी छ । चीन र अमेरिकाका बीच यो भाइरस उत्पतिका विषयमा निकै आरोपप्रत्यारोप चलिरहेको छ । सुरुका महत्वपूर्ण दिनहरु ट्रम्पले यसरी खेर फालिरहँदा अरु देशहरु महामारी रोकथाममा पूर्णरुपमा लागिसकेका थिए । त्यसकारण अमेरिकाका लागि महत्वपूर्ण समय चिप्लियो ।
१०.अमेरिकामा अहिले संकट यति गहिरिँदै गएको छ कि केही दिनअघि क्यालिफोर्निया, न्युयोर्क, मिचिगन, वासिंगटन लगायतका राज्यका स्वास्थ्यकर्मीहरु भेन्टिलेटर, मास्क र गाउनको अभाव भएको भन्दै सडक प्रदर्शनमा उत्रिएका थिए । यसले के पुष्टि हुन्छ भने अमेरिकाले महामारी रोकथामका लागि ती सामाग्री पुर्याउन सकेको छैन ।
अहिले त्यहाँ सबैभन्दा बढी न्युयोर्कमा मात्र १८ हजार २ सय ९८ जनाको मृत्यु भएको छ भने न्यु जेर्सीमा ४ हजार २ सय २ जनाको मृत्यु भएको छ । न्युयोर्कमा मात्र २ लाख ४७ हजारभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ भने न्युजेर्सीमा ८५ हजार ३ सय १ जना संक्रमित देखिएका छन् । त्यस्तै म्यासाच्युसेट्समा १७ सय जनाको मृत्यु भएको छ भने ३८ हजारभन्दा बढी संक्रमितहरु फेला परेका छन् । त्यस्तै क्यालिफोर्नियामा १ हजार १ सय ७७ जनाको मृत्यु भएको छ भने ३१ हजार ५ सय २७ जना संक्रमित भएका छन् । उता, मिचिगनमा २ हजार ३ सय ९१ ज्नाको मृत्यु भएको छ भने ३१ हजार ४ सय २४ जना संक्रमित देखिएका छन् । यसैगरी अन्य राज्यहरुमा पनि मृत्यु हुने र संक्रमितहरुको संख्या देखिँदै गएको छ । –हिन्दी जागरण डट कमको सहयोगमा /Photo: AP/AFP



