काठमाडौँ ,३१ वैशाख । पहिलो चरणको स्थानिय तह निर्वाचनका लागि उपत्यकामा जिल्ला प्रशासन कार्यालय काठमाडौं र निर्वाचन आयोगले ६ हजार सवारी अनुमतिपत्र वितरण गरेको छ ।
जसमा जिल्ला प्रशासन कार्यालयले पाँच हजार र निर्वाचन आयोगले एक हजार सवारी साधन अनुमतिपत्र वितरण गरेको जिप्रकाका प्रशासकिय अधिकृत महेशकुमार दाहालले जानकारी दिए ।
निर्वाचनलाई मर्यादित बनाउनका लागि निर्वाचन आयोगले आइतबार अनुमतिपत्र बाहेकका सवारी साधनलाई रोक लगाएको छ ।
निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयले सरकारी, सञ्चारमाध्यम, पर्यटन, अध्यागमन विभागका कर्मचारी, विदेशिने नागरिक, अस्पतालमा इमर्जेन्सीका बिरामीका आफन्तहरुलाई सवारी अनुमतिपत्र वितरण गरेको अधिकृत दाहालले बताए । केहीले बिहेका लागि भनेर समेत अनुमतीपत्र लिएको उनले जानकारी दिए ।
एयरपोर्टसम्म बस सञ्चालन हुने
आइतबार सार्वजनिक र निजी सवारी साधन नचल्ने भएपछि सर्वसाधारण यात्रु र पर्यटकको समस्यालाई ध्यानमा राखी नेपाल प्रहरी र नेपाल पर्यटन बोर्डले एयरपोर्टसम्म बस सञ्चालनमा ल्याउने भएको छ । सवारी साधनमा बिहान ५ बजेदखि बेलुका ७ बजेसम्मका लागि रोक लगाइएको छ ।
जसमा रुट नम्बर १ अन्तर्गत एयरपोर्ट–गौशाला–सिफल–कालोपुल– भगवतीबहाल–दरबारमार्ग–न्युरोड–होटल अन्नपूर्ण–होटल याक एण्ड यति– ठमेल चोक– लैनचौर– होटल शंकर– हात्तिसार कमलपोखरी– रातोपुल गौशाला हुँदै एयरपोर्टसम्म सञ्चालन हुनेछ ।
त्यस्तै, रुट नम्बर २ अन्तर्गत एयरपोर्ट– गौशाला– सिफल– कालोपुल– भगवतीबहाल–दरबारमार्ग–होटल रेडिसन– होटल सांग्रिला– टिचिङ– नारायणगोपाल चोक– होटल हायात रिजेन्सी– चाबहिल चोक– होटल द्धारिका हुँदै एयरपोर्ट सम्म बस सञ्चालित हुनेछ ।
रुट नम्बर ३ अन्तर्गत एयरपोर्ट–तीनकुने चोक– होटल एभरेष्ट– माइतीघर मण्डला– होटल हिमालय– सेन्ट जेभियर स्कुल–त्रिपुरेश्वर– होटल सोल्टी– होटल ग्राण्ड हुदै एयरपोर्ट सम्मका बस सञ्चालन हुनेछ ।नँया पत्रिकाबाट



