काठमाडौं । औंला गन्दागन्दै आइपुग्यो भोट खसाल्ने दिन । स्थानीय तहका जनप्रतिनिधि छान्ने अवसर ।
यस्तो अवसर प्रत्येक पाँचपाँच वर्षमा आउनुपर्ने हो । तर, राजनीतिक अस्थिरताले गर्दा २० वर्षपछि स्थानीय चुनावमा भाग लिँदैछन् नेपाली ।
मतदान हरेक नागरिकको अधिकार तैपनि केही मतदाताले यो अवसर सदुपयोग गर्न नपाउने भएका छन् ।
मत दिन स्थानीय स्तरमै जानुपर्ने भएपछि हजारौं सरकारी कर्मचारी, म्यादी प्रहरी, वैदेशिक रोजगारमा रहेका नेपाली, कैदीबन्दी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीलगायतले मताधिकार प्रयोग गर्न नपाउने भएका हुन् ।
तिनैमध्येका एक हुन् देवीप्रसाद सुवेदी । सुवेदी गृह मन्त्रालयका सहसचिव हुन् । यसपटकको स्थानीय चुनावमा मत हाल्न पाउँदैनन् उनले ।
कारण उनी निर्वाचन अधिकृत बनेर बाग्लुङ पुगेका छन् । ‘मत हाल्ने रहर त थियो,’ उनले भने, ‘जिम्मेवारीले गर्दा रहर पूरा हुन सकेन ।’
सुवेदी आफैं निर्वाचन अधिकृत भएर बाग्लुङको ताराखोला गाउँपालिकामा निर्वाचन गर्ने जिम्मेवारी पाएका छन् । ‘एउटा गाउँपालिकाको चुनाव गर्ने जिम्मेवारी नै पाएको छु,’ उनले भने, ‘समग्र रुपमा हेर्दा खुसी छु तर व्यक्तिगत रुपमा भने स्थानीय प्रतिनिधिलाई मत हाल्न सामेल हुन नपाएकोमा कताकता दुःख लागेको छ।’
एक नागरिक भएर हेर्दा आफूले पनि मत हाल्ने व्यवस्था भए हुन्थ्यो जस्तो सुवेदीलाई लागेको छ । पर्वत जिल्लाको मतदाता नामवलीमा सुवेदीको नाम छ ।
पशुपति बस्ताकोटी नेपाल प्रहरीमा कार्यरत छन् । शनिबार सम्पर्क गर्दा महानगरीय प्रहरी कार्यालय रानीपोखरीको ‘मेट्रो कन्ट्रोल रुम’ मा निकै व्यस्त थिए उनी ।
यसपटकको स्थानीय चुनावमा बस्ताकोटीले पनि मत हाल्ने अवसर पाएनन् । ‘मत हाल्न जाने रहर त थियो नि सर,’ उनले भने, ‘देशको सेवामा खटेको मान्छे, मत हाल्ने कुरामा कहाँ अल्झिन भयो र ।’
यद्यपि २० वर्षपछि आएको मौका सदुपयोग गर्न भने ठूलो इच्छा रहेको उनले सुनाए। बस्ताकोटीको नाम काभ्रेको मतदाता नामवलीमा छ ।
‘मत हाल्न नपाउँदा मन खिन्न भएको छ,’ उनले भने, ‘चुनाव गराउनकै लागि २४सै घन्टा ड्युटीमा खट्दा भोट हाल्नुभन्दा बढी गर्व लागेको छ।’ (नागरिक दैनिक)



