काठमाडौँ । नेपाली काँगे्रसका नेता डा मीनेन्द्र रिजाल यस पटक निकै चर्चामा हुनुहुन्छ । प्रमुख प्रतिपक्षको भूमिका अपेक्षित रूपमा प्रभावकारी नदेखिएको टिप्पणी भइरहेका बेला उहाँले भारतसँंगको सम्बन्धलाई लिएर कांगे्रसलाई मात्र होइन अन्य दल र सर्वसाधारण नेपाली जनतालाई समेत तरंगित तुल्याउनुभएको छ । डा रिजाल अतिक्रमित भूभाग फिर्ता लिने सम्बन्धमा नेपाली जनताले देखाएको अभूतपूर्व एकता प्रदर्शनीबाट सन्देश लिन भारतीय नेतृत्व तहलाई सुझाव दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘भारतले फेरि एकपटक नेपालको चित्त दुखाएको छ ।नेपालले गम्भीर र सहिष्णु भएर आफ्ना प्रमाणहरू अघि राख्दै लगातार २३ वर्षदेखि उठाएका विषयलाई बेवास्ता गरेकै कारण नेपालीको मन निकै दुखेको बताउँदै डा रिजालले स्वाभिमानी नेपालीलाई सीमित भारतीयले देखाउने सामन्तवादी व्यवहार सह्य नहुने बताउनुभयो । यही विषयमा केन्द्रित रहेर राससका समाचारदाता नारायण न्यौपाने र भीष्मराज ओझाले उहाँसँग गरेको कुराकानीको सक्षिप्त अंश ः
छिमेकी मुलुक भारतसँग बेलाबेलामा नेपालको सीमा विवाद उठ्ने गरेको छ, यसलाई कसरी लिनुभएको छ ? प्रजातन्त्रको पुनःस्थापनापछि खासगरी २०५७ सालदेखि कालापानी, लिम्पियाधुरालगायत सीमाको विषय गम्भीर रूपले उठ्दै आएको छ । त्यसबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसैे बेला नेपाल र भारतले सीमाको विषय टुङ्ग्याउन बाँकी भनी स्वीकार गरेका हुन् । त्यसभन्दा अघि २०५४ सालमा भारतीय प्रधानमन्त्री इन्दरकुमार गुजरालको नेपाल भ्रमणको बेला सुल्झाउन बाँकी सीमा मुद्दालाई थाती मुद्दाका रुपमा स्वीकार गरिएको थियो । पछिल्लो समय भारतले नक्सा जारी गरिसकेपछि नेपालले यसको प्रतिरोध ग¥यो ।
भारतले दुवै देश कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न सकिन्छ भनी स्वीकार पत्र पठायो । त्यसभन्दा अगाडि २०७२ सालमा काँग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा भारत र चीनले लिम्पियाधुरा क्षेत्रमा बाटो बनाउने कुरा गरे । तत्कालै नेपालले भारत र चीनलाई पत्र लेखेर तपाईँहरू नेपालको सार्वभौमिकता रहेको लिम्पियाधुरा र लिपुलेक भञ्ज्याङबाट बाटो बनाउन पाउनुहुन्न, तपार्इँहरूले गलत गर्नुभयो, यो दुई पक्षले मात्र कुरा गरेर अघि बढाउने विषय होइन भनेर पत्र पठाइएको थियो ।पछिल्लो समय चीनले यस्ता विषयमा एकांगी निर्णय गरेर हुन्न भनेको छ । यस अर्थमा चीनले घुमाउरो पाराले २०७२ मा आफ्नो गल्ती भएको स्वीकार गरेको अनुभव हुन्छ । कोरोनाको कहर सकिएपछि छलफलका माध्यमद्वारा टुङग्याऔँ भनिएको बेला त्यसलाई बेवास्ता गर्दै भारतका रक्षामन्त्रीले मानसरोवर जोड्ने कथित सडक उद्घाटन गरेपछि परिस्थिति जटिल बनेको छ ।
के नेपालसंँग यस विषयलाई लिएर आफ्नो अडान राख्ने बलिया आधार नभएका हुन् ?
आजको दिनसम्मे धेरै सहज रुपमा यो समस्या समाधान गर्ने खालको भारतको सोच देखिन्न । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो भन्ने हामीसँग असाध्यै बलिया प्रमाण छन् । हामीसँग भएकाले मात्र होइन, राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा भएका दर्जनाँै प्रमाणले पनि त्यो क्षेत्र नेपालकै हो भन्ने पुष्टि गर्छन् । सन् १८१६ को सुगौली सन्धि र त्यसलाई अझ प्रष्ट पार्न गरिएको १८१७ को सन्धि, विसं २०२७ र २०३० मा जारी भएको नक्सा, दुवै देशका नेतृत्व तहमा २०५४ र २०५७ मा भएका कुराकानी र सहमति पनि यथेष्ट प्रमाण हुन् । भारतकै बृटिशकालीन नक्सा र त्यहाँका प्रान्तका नक्सामा जहिले पनि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भूभाग नेपालको हो भनेर देखाइएको छ । अहिले एकाएक त्यो क्षेत्र समेटेर भारतले नक्सा प्रकाशित गरेको हो । त्यो भूभाग नेपालको हो भन्ने जग्गाको तिरो तिरेको, जनगणनाको, चुनावमा मतदाता रहेको र चन्द्रशम्शेरका पालामा त्यहाँका जनताले दुःख पाए भनेर मुखियाले लेखेको चिठीलगायतका यति धेरै प्रमाणहरू हामीसँग छन् । दुनियाँमा कसैले देख्दा पनि नेपालले अर्घेल्याइँ गरेको छैन भन्ने प्रमाणले नै प्रष्टयाएको छ । यिनकै आधारमा विवादको समाधान हुन्छ ।
के यसले अब दवाव नै चाहिएको हो भन्ने बुझाउँछ ?
हामीले वार्ता र कूटनीतिक माध्यमबाट टेबुलमा बसेर भारतले उब्जाएको समस्या समाधान गर्न दबाब सिर्जना गर्नुपर्छ । भारतको संसद्मा विपक्षी दलले पनि नेपालसँगको सम्बन्ध धेरै पुरानो, गहिरो र मित्रवत् हो, अत्यन्त दुःखका दिन स्वतन्त्रता संग्राममा हामीलाई साथ र सहयोग पु¥याएको थियो, नेपालसँगको सम्बन्धलाई बिग्रन दिन हुन्न भनेर संसद्मै कुरा उठाएका छन् ।मैले देखेको र बुझेको दुई वटा भारत छन् । बिपी भन्नुहुन्थ्यो, आम रूपमा असङ्ख्य भारतीयमा नेपालप्रति असाध्यै ठूलो स्नेह र मैत्रीभाव छ ।
दुईवटा बेग्लाबेग्लै देशका नागरिकको जस्तो भावै छैन । नेपाली नागरिकले भारतमा र भारतीयले नेपालमा सहज रूपमा आवतजावत र रोजगारी समेत गर्न सक्छन् तर सत्तामा बसेका र बाहिरका केही सीमित व्यक्तिमा भने कताकता हिजोको उपनिवेशका बेला बेलायतीले भारतीयलाई हेप्ने गरेजस्तै नेपालीलाई हेप्नुपर्छ भन्नेजस्तो मिचाहा प्रवृत्ति देखिन्छ । यस्तो गलत प्रवृत्तिको अन्त्य हुनुपर्छ ।नेपालमा पनि भारत र भारतीयप्रति असाध्यै सद्भाव छ । प्रधानमन्त्री मोदी पहिलो पटक नेपाल आउँदा म सवारीमन्त्री थिएँ । आम नेपाली जनता मोदीलाई हेर्न, भेट्न र छुनलाई उर्लिएको त्यो भीड सम्हाल्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । त्यस भावनालाई दुई देशबीचको सम्बन्धको उदाहरणका रुपमा लिइएको थियो ।
केही सीमित भारतीय व्यक्ति र मिडियाकर्मीले स्वाभिमानी नेपालीलाई घमण्ड देखाउने, अपमान गर्न खोज्ने, सामन्तवादी हेपाहा र मिचाहा प्रवृत्ति देखाउन खोज्छन् भने त्यस्तो व्यवहार सहन सक्ने कुरा भएन । नेपाली जाति अरूका लागि समेत जहाँसुकै लडेको जाति हो, इतिहासमा भारतको रक्षा र सुरक्षाका लागि लडेका छौँ, दुनियाँमा हाम्रो वीरताको गाथा छ । यहाँ कसैले मिचाहा प्रवृत्ति देखाउँछन् भने कसरी सहने भन्ने भाव देखिनु स्वाभाविक हुन्छ



