काठमाडौँ, १६ असोज । यातायात व्यवसायीले अनेक माग राखेर मनपरी गर्न खोजेपछि सरकारले वैकल्पिक व्यवस्था गर्न लागेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दसैँको यातायात समस्या समाधान गर्न सरकारी गाडी लामो दूरीमा यात्रु बोक्न सञ्चालन गर्ने तयारी थालेको हो । यही विषयमा छलफल गर्न मुख्यसचिव डा. सोमलाल सुवेदीले आइतबार बिहान सचिवहरूको बैठक बोलाएका छन् । सबै सरकारी बसको विवरण संकलन गरी सञ्चालनको योजना बनाउन लागिएको हो ।
प्रहरी तथा सेनाको बसलाई समेत दसैँमा यात्रु बोक्न सञ्चालन गर्ने योजना पनि सरकारको छ । यातायात व्यवस्था विभागले दसैँमा घर जाने यात्रु ओसार्न स्कुल तथा कलेजका बस प्रयोग गर्ने तयारी गरेको छ ।
विभागले प्याब्सन, एनप्याब्सन तथा प्लस टु कलेज सञ्चालकको संस्था हिसानका अधिकारीहरूलाई आइतबार छलफल गर्न बोलाएको छ । ‘राजधानीका स्कुल–कलेजका पनि तीन–चार सय बस छन्,’ विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ भन्छन्, ‘व्यवसायीले बस नथपे स्कुल–कलेजको बसमार्फत धेरै यात्रु घर जान सक्नेछन् ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।



