विराटनगर । कोरोना महामारीबीच आएको प्रदेश १ सरकारको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतासहित बजेट विनियोजन भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले सोमबार प्रदेश सरकारको बजेट प्रस्तुत गर्दै स्वास्थ्य प्रणाली नियमित गर्न स्वास्थ्यकर्मी उपलब्ध गराउन, सरुवा रोग तथा अनुसन्धान केन्द्रको रुपमा कोसी कोभिड अस्पताल विराटनगरलाई विकास गर्न रु.५० करोड विनियोजन गरेको बताएका छन् ।
कोरोना जनसुरक्षा कोषमा पर्याप्त बजेट छुट्याएको र मेची अस्पतालको सेवा विस्तार गर्न भेन्टिलेटरसहित रु २३ करोड विनियोजन गरिएको छ । धनकुटा प्रादेशिक शिक्षण अस्पताललाई आवश्यक बजेट विनियोजन गर्दै ५० बेडसहितका जिल्ला अस्पतालको स्तरोन्नति, २५ शय्यालाई स्मार्ट अस्पतालमा रुपान्तरण गर्ने आदि कार्यका लागि लागि रु. १ अर्ब १० करोड विनियोजन भएको छ ।
अक्सिजन र फोहोर मैला व्यवस्थापन मेसिनसहित अस्पताल सेवा विस्तार गर्न एक करोड विनियोजन गरिएको छ । पीसीआर मेसिन र अन्य स्वास्थ्य सामग्री खरिदका रु ६ करोड बजेट छुट्याइएको मन्त्री आङ्बोले जनाएका छन् ।
प्रदेश प्रयोगशाला भवन आगामी आर्थिक वर्षभित्र पूरा गरिने,आयुर्वेदिक स्वास्थ्य सेवा विस्तार गर्ने, सर्पदंश उपचारको लागि भेन्टिलेटरसहितको सेवा विस्तार गर्ने, गर्भवती प्रसूति सेवा ग्रामीण स्वास्थ्य आमा कार्यक्रमका लागि रु. ५ करोड विनियोजन भएको छ । गर्भवतीलाई हवाई उद्धार गर्न पनि सरकारले आवश्यक बजेट छुट्याएको मन्त्री आङ्बोले जनाए ।
नसर्ने रोगका लागि समुदायमा आधारित कार्यक्रमका लागि जनस्वास्थ्य कार्यक्रमका लागि आवश्यक बजेट छुट्याइएको छ । उदयपुर कटारी, दमक र इटहरी अस्पतालको क्षमता अभिवृद्धि गर्न आवश्यक रकमको व्यवस्था गरिएको मन्त्री आङ्बोले बताए । प्रदेश प्रमुख ज्येष्ठ नागरिक दन्त उपहारलाई रु १ करोड विनियोजन भएको छ । यसैगरी मंगलबारे अस्पताललाई मदन भण्डारी अस्पतालको रुपमा विकास गरिने र ट्रमा सेन्टरको रुपमा स्तारोन्नति गर्न बजेट विनियोजन भएको छ । बाह्रखरी बाट



