४ जेठ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले गृहजिल्ला गोरखामा समेत निर्वाचनमा हार बेहोर्न परेपछि जनताले दिएको आदेशलाई विनम्रताका साथ स्वीकार्ने बताएका छन् ।
आफू जन्मेको गाविस पालुङटारबाट नयाँ शक्तिको हारपछि सामाजिक सञ्जाल ट्वीटरमार्फत मतपरिणाम स्वीकार्ने प्रतिक्रिया बाबुरामले दिएका हुन् ।
भर्खर जन्मेको नयाँ पार्टीलाई लामो यात्रा गर्न आदेश दिएकाले आफूहरुले त्यसको सम्मान गर्ने उनले प्रतिक्रिया दिएका छन् । ‘नवजात शिशु नयाँ शक्तिलाई लड्दैपड्दै दौड्न सिक्न र वैकल्पिक राजनीतिको लामो यात्रा तय गर्न जनताले दिएको आदेशलाई हामी विनम्रतासाथ स्वीकार्छौं,’ उनले लेखेका छन् ।
बाबुरामको जन्मगाउँ पालुङटार नगरपालिकामा कांग्रेसका उम्मेद्वार दिपकबाबु कँडेल मेयर पदमा विजयी भएका छन् भने माओवादी केन्द्रका उम्मेद्वार उपमेयरमा विजयी भएका छन् । नयाँ शक्ति तेस्रो भएको छ ।



