अपेक्षाअनुसार परिणाम आएन । ५० प्रतिशतभन्दा बढी जित्ने अनुमान थियो । दोस्रो चरणमा लक्ष्य पूरा गर्छौँ, कांग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमै हुनेछ : वामदेव गौतम, उपाध्यक्ष
– १३५–१४५ सिट जित्ने अपेक्षा, नतिजाप्रति सन्तुष्ट
– दोस्रो निर्वाचनसम्म ५० प्रतिशत कटाउने लक्ष्य
– १० प्रतिशत सिट सत्ता दुरुपयोगबाट प्रभावित
शुरोजंग पाण्डे
प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सन्तोषजनक परिणाम आएको प्रारम्भिक समीक्षा गरेको छ । कांग्रेस बढी सिट अन्तरमा दोस्रो दल बन्ने प्रक्षेपण पूरा नभए पनि एमालेले पहिलो स्थान प्राप्त गर्ने प्रस्ट संकेत देखिएको निष्कर्ष छ ।
एमालेले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकासहित एक सय ३५ देखि एक सय ४५ सिट जित्ने लक्ष्य राखेको थियो । तर, सबै परिणाम आउँदा अपेक्षाभन्दा २० देखि ३० सिट कम आउने एमालेले जनाएको छ ।
दोस्रो निर्वाचनमा ५० प्रतिशत कटाउने लक्ष्य
पहिलो चरणको प्रक्षेपणमा थोरै फरक परे पनि एमालेले बाँकी चार प्रदेशमा हुने निर्वाचन परिणाममा ५० प्रतिशत कटाउने लक्ष्य पूरा हुने दाबी गरेको छ । ‘अहिलेको परिणाम सन्तोषजनक नै छ, तर ५० प्रतिशत कटाउने लक्ष्य पूरा गर्न दोस्रो चरणको निर्वाचन कुर्नुपर्ने स्थिति देखियो,’ उपाध्यक्ष वामदेव गौतमले भने, ‘हामी त्यो लक्ष्य पूरा गरिछाड्छौँ ।’
सत्ता दुरुपयोगबाट १० प्रतिशत सिट प्रभावित
सत्तारूढ गठबन्धनले सत्ता दुरुपयोग र धाँधली गरेर करिब १० प्रतिशत सिट प्रभावित पारेको आरोप एमालेको छ । दोलखा, सिन्धुपाल्चोक, धादिङ, काभे्र, रसुवा, हुम्ला, रुकुम, नुवाकोट, मकवानपुर, रामेछापलगायत जिल्लामा सत्ताको आडमा अराजनीतिक क्रियाकलाप गरेर मत प्रभावित गरिएको एमालेको आरोप छ । यसको अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग एमालेको छ ।
‘सत्ताको आडमा बुथ कब्जा गरेर, धाँधली गरेर ५ देखि १० प्रतिशत सिट प्रभावित तुल्याइएको छ,’ एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले भने, ‘घेराबन्दी, सत्ताको दुरुपयोग र षड्यन्त्र सामना गर्दै पहिलो स्थानको प्रस्ट संकेत देखिनुलाई सकारात्मक रूपमै लिएका छौँ ।’
दोस्रो निर्वाचनपछि लक्ष्य पूरा गर्छौं : वामदेव गौतम, उपाध्यक्ष, एमाले
निर्वाचनको पूर्ण समीक्षा गरिसकेका छैनौँ । प्रारम्भिक समीक्षामा अपेक्षाअनुसार परिणाम आएन भन्ने हो । ठ्याक्कै यति सिट जित्ने भन्ने लक्ष्य नभए पनि ५० प्रतिशत कटाउने भनिएकाले पहिलो स्थानको सम्भावनालाई सन्तोषजनक नै मानेका छौँ । कांग्रेसले अहिलेकै जति धेरै स्थान जित्ला भन्ने लागेको थिएन । तर, धेरै ठाउँमा कांग्रेस–माओवादीको गठबन्धनले उनीहरूको केही बढी सिट आयो । ८–१० स्थानमा सत्ताको दुरुपयोग र धाँधलीमार्फत परिणाम प्रभावित तुल्याइएको छ । तर, बहुमत सिट जित्ने लक्ष्य पूरा गर्न दोस्रो चरणको निर्वाचन पर्खिनुपर्ने स्थिति देखियो । अहिलेको परिणामले सकारात्मक सन्देश दिएकाले दोस्रो चरणमा लक्ष्य पूरा गर्छौं, कांग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमै हुनेछ ।
नयाँ पत्रिका



