सरकारको नेतृत्वकर्ता एवं संसदको तेस्रो ठूलो राजनीतिक शक्ति नेकपा माओवादी केन्द्र पहिलो चरणको स्थानीय तहको निर्वाचनबाट पनि तेस्रो स्थानमा रहने पक्कापक्की जस्तो देखिएको छ । तेस्रो स्थानमा कायम रहेपनि माओवादी केन्द्रीय कार्यालय बैठकले नजितालाई अपेक्षाकृत भनेको छ ।
माओवादीबाट अलग्गिएका बावुराम भट्टराईको नयाँ शक्ति र पूर्वपञ्चहरुको पार्टी राप्रपाले पनि स्थानीय निर्वाचनमा तेस्रो बन्ने बताउदै आएका थिए ।
पहिलो संविधानसभाको निर्वाचनबाट पहिलो शक्तिको रुपमा उदाएको माओवादी दोस्रो संविधानसभासम्म आइपुग्दा अनपेक्षित रुपमा तेस्रो स्थानमा झर्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’ जति पीडामा थिए स्थानीय तहको निर्वाचनमा उति चिन्तित छैनन् । बरु उनले माओवादीले चुनाव हारेपनि देशले जितेको भन्दै सार्वजनिक रुपमा प्रसन्नता व्यक्त गरेका छन् ।
शुक्रबार चितवन र आइतवार जनकपुरमा आयोजित एक कार्यक्रममा प्रचण्डले माओवादीकै एजेण्डा कार्यान्वयनमा आएको र देशले नै जितेको भन्दै चुनावी अंकगणितले तात्विक फरक नपर्ने बताएका थिए । प्रचण्ड हरेक कार्यक्रममा चुनावी पीडा पराजयको पीडाको रुपमा नभई विजयी भएको रुपमा प्रस्तुत हुँदै आएका छन् ।
१० वर्षे सशस्त्र जनयुद्ध हुँदै शान्तिप्रक्रियामा आई संसदीय राजनीतिमा समाहित भएको माओवादीले नै संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशितालगायतका एजेण्डा उठाएको थियो । कांग्रेस—एमालेजस्ता परम्परागत संसदवादी राजनीतिक दलले तीनै एजेण्डा बोकेर हिडेका छन् । सबै एजेण्डा स्थापित गराउँदै गर्दा माओवादीको संसदीय राजनीति र स्थानीय सरकारको अंकगणित भने खुम्चिँदै गएको छ ।
बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि माओवादी तेस्रो शक्तिकै रुपमा स्थापित भयो । माओवादीले जनयुद्दकालमा भन्ने गरेको ‘आधार इलाका’ भनिने ग्रामीण क्षेत्रमा बलियो देखिए पनि सहरी क्षेत्रमा भने माओवादी कमजोर बन्दै गएको स्थानीय तहको चुनावी नतिजाले देखाएको छ । काठमाडौं उपत्यका लगायत शहरी क्षेत्रमा माओवादीको पराजत र कमजोर नतिजाले त्यसैको संकेत गर्छ ।
विगतमा माओवादी जनयुद्धको उद्गमथलो प्रदेश नम्बर ६ मा माओवादीको बहुमत देखिएको छ । त्यही ६ नम्बर प्रदेशका पहाडी इलाका जनयुद्धकालमा माओवादीको आधार क्षेत्र रहेका थिए । तर तीन नम्बर प्रदेशमा ग्रामीण क्षेत्रमा राम्रै हैसियत भेटाएपनि सहरी क्षेत्रमा माओवादीलाई नराम्ररी धक्का पुगेको छ । शहरी क्षेत्रमा प्राप्त नतिजाले माओवादीलाई सत्तासाफ नै बनाएको छ ।
काठमाडौं उपत्यकाका दुई महानगर काठमाडौं र ललितपुर महानगरपालिकामा माओवादी निकै कमजोर देखिएको छ । काठमाडौं महानगरपालिकामा टुसाउँदै गरेको विवेकशील र साझा पार्टी भन्दा पनि माओवादी निकै कमजोर देखिएको छ । ललितपुरमा पनि अवस्था उस्तै छ अर्थात साझा पार्टीका उम्मेदवार समेतले पछि पार्दै माओवादी चौथो स्थानमा देखिएको छ ।
चितवनको भरतपुरमा भने माओवादीको दोस्रो स्थानमा देखिएको छ, कांग्रेससंगको तालमेलका कारण । प्रचण्डको गृहजिल्ला समेत रहेको चितवनमा कांग्रेससँग गठबन्धन बनाएर माओवादी चुनाव लडेको थियो । कांग्रेससँग मिल्दा समेत माओवादी दोस्रो स्थानमा देखिँदा त्यहाँ पनि माओवादीको उपस्थिति सन्तोषजनक नरहेको विश्लेषण गर्न सकिन्छ ।
कुनैवेला माओवादीले चुनाव जितेको पोखरामा पनि अवस्था उस्तै देखिएको छ । कांग्रेसँगको गठबन्धनमा माओवादीले उपमेयर पाउँदा पनि अवस्था दयनीय देखिएको हो । यसरी हेर्दा माओवादीको सहरी क्षेत्रमा प्रभाव कम देखिएको प्रष्टिन्छ । हुन त सर्वहारा वर्गको नेतृत्वकर्ता भन्न रुचाउने माओवादीलाई विगतदेखि नै सहरी क्षेत्रका एक तप्काले रुचाउँदैनन् जुन स्थानीय तहको निर्वाचनसम्म आइपुग्दा विविध रुपमा थप बढ्यो ।
माओवादी केन्द्रको तर्फबाट काठमाडौं महानगरको मेयरको टिकट लिएर चुनावी मैदानमा रहेका सर्वोत्तम डंगोल सहरी क्षेत्रका मतदातामा एउटा बर्गलाई समेटेर जानेस्वभावले गर्दा आफूहरु सर्वहारा बर्ग छनोटमा नसकेको बताएका छन् ।
काठमाडौंका मतदाताले हिजोका दिनमा नानिमैयाँ दाहाललाई जिताएको प्रशंग ब्याख्या गर्दै उनले माओवादीले गरेका राम्रा कामबारे जनतालाई बुझाउनै नसकेको र माओवादीले गरेका कामलाई राजनीतिको अर्को पक्षले अर्कै ढंगले क्यास गरेको बताउछन् ।
काठमार्डाैंका पुराना माओवादीले कतै न कतै गल्ती गरेको भन्दै त्यसलाई सच्याउँदै अघि बढ्न नसक्नु नै पनि चुनावी परिणाम यस्तो आउनुमा जिम्मेवार रहेको उनले उल्लेख गरेका छन् । नेपाली राजनितीमा भर्खरै पाईला चालेका विवेकशिल र साझा पार्टी भन्दा पनि पछाडी पर्छु जस्तो नलागेको समेत डंगोलले बताएका छन् ।
शान्ति प्रक्रियामा आएपछि माओवादी नेताहरु शहर केन्द्रीत, सुविधा भोगी र गाउँलाई बिर्षेको आरोप उनीहरुका कार्यकर्ताले लगाउदै आएका थिए । माओवादी केन्द्रका नेताहरुले आफ्नो उर्वर क्षेत्रलाई बिर्षदै गएपनि यसपटकको स्थानीय निर्वाचनले माओवादीको धरातललाई थप स्पष्ट गरिदिएको छ । लोडसेडिङ अन्त्य लगायत काम गरेपनि शहरी क्षेत्रका जनताले माओवादीलाई पत्याइदिएनन् ।
माओवादीले यसपटक पाएको नजिता दोस्रो संविधानसभा निर्वाचनको भन्दा सुधारिएको अबस्था हो । दोस्रो संविधानसभामा माओवादीले प्रत्यक्षतर्फ कांग्रेस र एमालेको तुलनामा एक तिहाइ जितेको थियो । स्थानीय निर्वाचनमा कांग्रेस एमाले भन्दा आधा जित्नुलाई माओवादीले अपेक्षाकृत ठानेको छ । लामो समय रिक्त रहेको स्थानीय सरकारमा जनप्रतिनिधि निर्वासचत गराउनु चाहिँ माओवादीको जीत नै हो ।
लोकान्तरबाट



