काठमाडौं, १२ जेठ । नेपाली राजनीतिको सबैभन्दा कमजोर पात्र शेरबहादुर देउवा प्रधानमन्त्री हुने तरखरमा छन् । बोली,व्यवहार, नीति र कार्यक्रम जस्ता विषयमा शेरबहादुर सबैभन्दा लबस्तरो पात्र समेत हुन । चौथो पटक सिंहदरबार छिर्नु अघि नै शेरबहादुरका अगाडि समस्याको चाङ देखिएको छ ।
शेर बहादुरलाई प्रधानमन्त्री बनाउन सबैभन्दा पहिले एमालेले संसदको अवरोध खोल्नु पर्ने छ । सरकार छाड्नु अघिल्लो दिन पुष्प कमल दाहालले तराईका विभिन्न जिल्लामा २२ वटा स्थानिय तह थपेका छन् । स्थानिय तह थप गर्ने जस्तो विषयमा प्रमुख प्रतिपक्षीसँग सहमति त परै जाओस संवाद समेत गरिएन ।
त्यति मात्रै होइन कांग्रेस र माओवादीले आफूहरु अनुकुल हुने गरी थपिएका तहमा चलखेल गरेको आरोप एमालेले लगाएको छ । त्यसको संकेत स्थानिय स्तरबाट भईरहेको बिरोधबाट पनि पुष्टि हुन्छ ।
अर्को तर्फ चुनावमा महानगरहरुमा नराम्रोसँग पराजय भोगेपछि बिरगञ्ज र बिराटनगरलाई महानगर घोषणा गर्दै ठुलो हिस्सा थपिएको छ । त्यसो गर्नुको कारण दोस्रो चरणमा ती दुई तहमा जित हासिल गर्ने र महानगर जितेको तुष्टी लिने चाहना भन्दा अरु केही होइन । बीरगञ्ज र बिराटनगरमा कांग्रेस भोट बैंकका क्षेत्र थपिएको आरोप पनि एमालेले लगाएको छ ।
एमालेले स्थानिय तह थप गर्ने निर्णय फिर्ता लिनका लागि दबाब बढाउने निश्चित छ । त्यो दबाबका लागि सबैभन्दा सजिलो माध्यम संसद अवरोध हो । पद त्याग गर्ने दिन पुष्प कमल दाहालले थपिएका स्थानिय तहमा तेस्रो चरणमा चुनाव गर्ने प्रस्ताव गर्नुले आशंका झन बढाएको छ ।
त्यसो हुँदा प्रतिपक्षी एमालेले सजिलै संसदको अवरोध खोलेर देउवालाई सजिलो गरिदेला भन्ने अनुमान गर्नु बेकार हुन्छ । यस अघि पनि यो प्रस्ताव पटक पटक फिर्ता लिन देउवा—दाहाल गठबन्धन बाध्य भएकै हो । अब शेर बहादुरले एमालेसँग सम्झौता राम्रैसँग गर्नु पर्ने अवस्था नआउला भन्न सकिदैन ।
एमालेसँग सम्झौता नगरी देउवालाई प्रधानमन्त्रीको पगरी लाउने बाटो सजिलो नहुन सक्छ । एमालेसँग सम्झौता गर्दा मधेशीहरुसँगको सम्बन्ध धरापमा नपर्ला भन्न सकिदैन । अब हरेक बिवाद मिलाउने दायित्व पनि शेर बहादुर कै हो । पुष्पकमलले अब टाउको दुखाउने संभावना निकै कम छ । उनी के के न सफल भएको आत्मरतीमा छन् ।
अर्कोतर्फ संसदीय राजनीतिबाट बाहिर रहको नेत्र विक्रम चन्द नेतृत्वको माओवादी समूहले आफ्ना गतिविधि बढाउँदै लगेको छ । अपहरण, चन्दा असुली र विष्फोटका घटना बढ्दै गएका छन् । कर्णाली अञ्चलका कतिपय स्थानमा प्रहरी चौकीहरुले खतरा बढेको रिपोर्ट बारम्बार गरेका छन् ।
शेर बहादुर प्रधानमन्त्री बन्ने र विप्लवले हिंसा बढाउने संयोग मात्रै नहुन सक्छ । विप्लवको समूह कमजोर परिस्थितिको पर्खाईमा छ । र देउवाको शासनकाल जस्तो कमजोर अवस्था अरु बेला बिरलै प्राप्त हुन्छ । विप्लव समूहले कांग्रेसहरु माथिको प्रहार बढाउन सक्ने संकेतहरु पनि देखिएका छन् ।
देउवा कुनै पनि समस्यालाई गम्भीर रुपमा नलिने ल्याङफ्याङे नेता हुन भन्ने जगजाहेर छ । देउवाले आफ्नो कुर्सी र पैसा भन्दा दायाँबायाँ केही हेर्ने गर्दैनन । यस्तो कमजोर व्यक्ति प्रधानमन्त्री बन्नु कतै २०५२ सालको पुनरावृत्ति त होइन रु सर्वत्र आशंका छाएको छ ।
प्रचण्डसँग देउवा फुरुङ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनु अघि एमाले अध्यक्ष केपी ओलीले प्रचण्डलाई भेटेर राजीनामा नदिन आग्रह गरे । संम्भवत सत्तारुढ दलका प्रधानमन्त्रीले राजीनामा दिन खोज्दा प्रतिपक्षी दलका नेता राजीनामा नदिन आग्रह गर्ने दुनियामा कमै हुन्छ ।
तर यहाँ केपी ओलीले त्यही कमै हुने काम गरे उनले प्रधानमन्त्रीलाई भेटेर राजीनामा नदिनुस भनेर आग्रह गरेको प्रचण्ड निकट स्रोत बताउँछ । प्रचण्ड निकट एक नेताले भने केपी ओलीले राजीनामा नदिनुस तपाईलाई अल्पमतमा पर्न दिन्नौ बरु अर्को दश महिना तपाई नै प्रम बन्नुस हामी तपाईको नेतृत्वमा सहमति हुन्छौं भनेका थिए ।
प्रचण्डले भने मैले नैतिकताको खडेरी पर्न दिन्न भनि केपी ओलीलाई जवाफ दिएको बुझिएको छ । त्यसो त प्रचण्डले राजीनामा दिएपछि नेपाली कांग्रेस भित्र पनि प्रचण्ड बचनका पक्का रहेछन् भन्ने चर्चा चल्न थालेको छ, खबर नेपालीपत्रमा उल्लेख छ ।
चितवन र पोखरामा स्थानिय तहमा चुनावी गठबन्धन देखि प्रधानमन्त्रीबाट राजीनामा दिएर नेपाली कांग्रेसलाई बाटो खोली दिएपछि शेर बहादुर देउवाले प्रचण्डको प्रसंसक बनेको र बचनका पक्का रहेछन् भन्दै तारिफ गर्न थालेको देउवा निकट स्रोतले बतायो ।



