माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा छोरीलाई जिताउन २० करोड रुपैंया बाँडेको आरोप लागेको छ ।
प्रेस चौतारी नेपालले दोस्रो चरणको निर्वाचनको सन्दर्भमा शुक्रबार राजधानीमा आयोजना गरेको उपत्यकास्तरीय भेलामा बोल्दै नेकपा एमालेका सचिव एवं प्रचार विभागका प्रमुख योगेश भट्टराईले प्रचण्डले भरतपुरमा छोरी रेणु दाहाललाई जिताउन १५ देखि २० करोड रुपैंया बाँडेको दाबी गरेका हुन् ।
‘प्रचण्डले भोट किन्न १५–२० करोड रुपैंया बाँडेको सूचना आएको छ । पैखा खाएर काँग्रेसले माओवादीलाई भोट दिएको हो ।,’ भट्टराईको दाबी थियो– ‘हेर्दै जानुस् चुनाव सकिएपछि धेरै काँग्रेसका कार्यकर्ता गाडी चढेर हिँड्छन् ।’
गठबन्धन असफल
एमाले सचिव भट्टराईले भरतपुर बाहेक अन्य ठाउँमा काँग्रेस र माओवादीबीचको गठबन्धन फेल खाएको दाबी पनि गरे । ‘भरतपुरमा पैसा खाएर मात्र भोट आएको हो, भरतपुर बाहेक अन्य ठाउँमा माओवादी र काँग्रेसबीचको गठबन्धन असफल देखिएको छ ।’ उनले भने ।
हेटौंडा उपमहानगरपालिका, दोलखा, पोखरा लगायतका ठाउँमा काँग्रेस र माओवादीबीचको गठबन्धन असफल भएको भट्टराईको दाबी छ ।
तर, एमाले र माओवादीबीचको गठबन्धन भने सफल भएको उनको दाबी छ । लमजुङ जिल्लाको उदाहरण दिँदै उनले एमाले र माओवादीबीचको गठबन्धन इमान्दारिताका साथ कार्यान्वयन भएका कारण लमजुङमा दुबै पार्टीको राम्रो परिणाम आएको बताए ।



