पूर्वराष्ट्रपति डा. रामवरण यादवकी छोरी अनिता यादवले जनकपुर उपमहानगरपालिका प्रमुखमा उम्मेदवारी दिने चाहना राखेकी छन् । उनले आफूसँग उपमहानगरपालिकाको प्रमुख बन्ने योग्यता अनुभव र कौशलता रहेको बताउँदै चुनाव खर्च भने नभएको बताइन् ।
‘म संग योग्यता, अनुभव, कौशलता सबै छ । मेरो मेयरमा उठ्ने चाहना भन्दा पनि यो समाजलाई कसको जरुरत छ त्यो बुझ्न पर्छ । चुनावमा करोडौं रुपैयाँको चलखेल हुने मेरो देशमा मसंग चुनावमा खर्च गर्न त हजार मात्र छ ।
कसैलाई खुसी बनाएर टिकट लिएर वा पैसाको भरमा चुनाव लड्ड्ने मेरो चाहना पनि छैन’ उनले शुक्रबार राति फेसबुकमा लेखेकी छन् ।
आफूलाई पूर्व राष्ट्रपतिको छोरीको रुपमा मात्र नहेर्न आग्रह गर्दै उनले आफ्नो क्षमतालाई पनि मुल्याङ्कन गर्न आग्रह गरिन् । ‘मलाई पूर्व राष्ट्रपति पुत्रीको नजरले मात्रै हैन मेरो व्यक्तिगत योग्यता क्षमता, समाजप्रति मैले निर्वाह गरेको भूमिकालाई पनि हेर्ने बानी बसालौ’ उनले भनेकी छन् ।
चुनावमा नेताका छोराछोरी र ज्वाईले टिकट पाउने प्रचलनको अन्त्य हुनुपर्ने भन्दै पूर्व राष्ट्रपति पुत्री यादवले जो योग्य छ उसले मात्र चुनावमा उम्मेदवार बन्न पाउनुपर्ने बताइन् ।
–



