एमालेले नयाँ सरकारको नेतृत्व गर्न चाहेको प्रचार भइरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले एमालेले जस्केलाबाट सरकारमा जान नचाहेको वताएका छन् । पोखरा महानगरपालिकाको विजय सभालाई सम्बोधन गर्दै ओलीले केही महिनापछि जनताबाट बहुमत लिएर मात्रै एमालेले सरकारको नेतृत्व गर्ने वताएका हुन् ।
‘तीन चरणका चुनाव सम्पन्न गर्न सहमतीय सरकार भए सजिलो हुन्छ भनेका छौं, एमालेले अहिलेको जस्तो कान्लाकान्ली कुदेर, कसैका कागजमा सही गरेर जस्केलाबाट सरकारको नेतृत्वमा पुगौंला भन्ने सोचेको पनि छैन’ ओलीले भने, ‘केही महिनापछि जनताको अपार विश्वास र बहुमत लिएर हामी राजमार्गबाटै आफ्नो सरकार बनाउँदैछौं ।’

एमाले नै साझा पार्टी
पोखराको विजयोत्सवमा सहभागि हुन पुगेका ओलीले समृद्ध नेपाल र सुखी नेपाली बाहेक एमालेको कुनै उद्धेश्य नरहेको वताउँदै सबैको साझा पार्टी भएर एमालेले विकासको अगुवाई गर्ने वताए । ‘एमालेका अरु उद्धेश्य छैनन्, समृद्ध देश, सुखी नेपाली हाम्रो उद्धेश्य हो’ ओलीले भने, ‘एमालेले जितेका ठाउँमा अरु पार्टीका साथीहरुले पनि अविरजात्रा गरे हुन्छ, हामी विकास गर्छाैं, यो पार्टी त्यो पार्टी भनेर विकासमा पक्षपात गर्दैनौं ।’ ओलीले तीन वर्ष भित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने वताउँदै रेल भनेको सुन्दा आश्चर्य मान्नेलाई केही वर्ष भित्र पोखराबाट काठमाडौंसम्म रेलमा पठाइदिने वताए । ‘हामीले रेलको कुरा गर्दा आश्चर्य मान्नेहरुलाई केही वर्ष भित्र पोखराबाट काठमाडौंसम्म छुकछुक गर्ने रेल होइन सरर चल्ने रेलमा पठाउनु पर्छ’ ओलीले भने, ‘एमाले महानगरपालिका खान होइन, महानगरपालिका बनाउन आएको हो हामी बनाएर देखाउँछौं, एमाले भ्रष्टाचार मुक्त देश बनाउँछ ।’
सबै मिलेर एमालेको कम्मरसम्म आए
ओलीले एमाले विरुद्ध सत्तारुढ सबै दलले चुनावमा गठबन्धन गरे पनि उनीहरुको साइज एमालेको कम्मरसम्म मात्रै देखिएको वताए । एमालेको लहर रोक्न सत्तासीन दलहरुले अनेक हथकण्डा गरेको तर, जनताको अपार समर्थन एमालेमाथि रहेकाले असफल भएको उनले वताए । ‘हामी सरकारमा छैनौं, सरकारमा बसेर एमाले विरुद्ध अनेक हथकण्डा अपनाए, कुप्रचारको बाढी लगाए तर, जनताको अपार साथ एमालेलाई छ’ ओलीले भने, ‘पोखराको चुनावमा पनि देखियो, सबै बलिया हौं भन्ने सबै एकै ठाउँमा हुँदा पनि एमाले धेरै किलोमिटर अगाडि छ, उनीहरुले भेट्टाउनै नसक्नेगरी अगाडि छ ।’

उनले काठमाडौं महानगर र पोखरा महानगरको मतान्तर स्मरण गर्दै सबै मिल्दा पनि सत्तारुढ पार्टीहरु एमालेको कम्मरसम्म मात्रै आइपुगेको वताए । ‘सरकारमा बस्ने सबै मिलेर आए तर तपाईंहरु हेर्नुस् उनीहरुको उचाई एमालेको कम्मरसम्म मात्रै छ’ ओलीले भने, ‘एमालेलाई भेटौंला भनेर कसैले नसोचे हुन्छ ।’ ओलीले सत्तारुढ दलहरुले आफू अनुकुल ठानेका प्रदेशमा पहिलो चरणको चुनाव गराएर एमाले कमजोर रहेको हल्ला गर्दै दोस्रो चरणको चुनावमा जाने तयारी गरे पनि पहिलो चरणकै चुनावमा एमालेले अग्रता लिएको वताए । ‘आफूले जित्ने ठाउँ छानेर विचराहरुले पहिलो चरणको चुनाव गरेका थिए तर, यहीँ पनि एमालेले जित्यो’ ओलीले भने, ‘अव चुनाव टार्न राजपाको निहुँ देखाउँदै छन् ।’

सरकार तमासा गर्दै फिर्ता हुँदै
ओलीले सरकारले संविधान संशोधन, महाभियोग र स्थानीय तहको संख्या थपमा तमासा देखाएर पछि प्रस्ताव फिर्ता गरेको वताए । ‘संविधान संशोधन प्रस्ताव ल्यायो, हामीले यो पास हुँदैन भन्यौं । मतदानका लागि दिन तोक्यो, पास नहुने थाहा पाएपछि संशोधन प्रस्ताव काखी च्यापेर सरकार भाग्यो’ ओलीले भने, ‘प्रधानन्यायाधीश विरुद्ध महाभियोग ल्यायो, हामीले यो फिर्ता गर भन्यौं मानेन, बल्ल फिर्ता गर्नु भन्ने बचन दिएको छ ।’



