देशको मुटु काठमण्डौ महानगरको मेयरको रुपमा बिद्यासुन्दर शाक्य बिजय भएको औपचारिक घोषणा गर्न साथ उनलाइ शुभचिन्तकहरुले घेरे । एकै क्षणमा उनि कार्यकर्तामाझ हराए । कार्यकर्तामाझमा लुटुपुटु भए । उनि हराएपछि सुरक्षाका लागि खटिएका प्रहरीहरुलाइ आपत परेको छ । महानगरका मेयरलाइ सुरक्षा दिनका लागि धौ धौ परेको छ । भिडमा बिद्यासुन्दर हराइरहेकाछन् । कार्यकर्ताहरुले उनलाइ घेरेर बधाइ दिइरहेकाछन् ।
काठमाडौँकै लगनटोलमा विं.सं. २०२० जेठ ९ गते जन्मिएर त्यहिँको माटोमा हुर्किएका शाक्यले अब आफ्नो टोलबाट करिब एक–डेढ किलोमिटरको मात्र दूरीमा रहेको बागदरवारको कुर्सी पाँचवर्षका लागि सम्हाल्नु पर्नेछ । बागदरवार नजिकै रहेको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यामिक विद्यालयबाट विद्यालयतहको अध्ययन पूरा गरेका शाक्यले शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकसम्मको अध्ययन पूरा गरेका छन् ।
राजनीति प्रतिष्ठा र समाज परिवर्तनका लागि गर्ने हो भन्ने अठोट बोकेर हिडेका शाक्यले अहिले जुन सफलता प्राप्त गरेका छन् उनी त्यसलाई निरन्तरको योगदान र निष्ठाको प्रतिफल हो भन्छन् ।
काठमाडौंको भित्रि सहरमा आफ्नो छुट्टै परिचय बनाउन सफल शाक्य काठमाडौँको नेवारी समूदायमा जन्मि–हुर्किएका हुन् । शाक्य ०३७ सालको जनमत संग्रहका बेलादेखि नै राजनीतिमा सक्रिय बनेका हुन् ।

०४६ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा पनि उनले अग्रमोर्चामै उभिए सक्रिय भूमिका खेले । प्रजातन्त्रप्राप्तिको आन्दोलनका क्रममा निर्भीकतापूर्वक अग्रमोर्चामा रहेकै कारण पटक–पटक प्रहरीको निशानामा परेका शाक्य आफ्नो विचारमा अडिग रहिरहे ।
प्रजातन्त्र प्राप्तिपछि स्थापना भएको नेकपा (एमाले) को तत्कालिन युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनको काठमाडौँको संस्थापक कोषाध्यक्षको जिम्मेवारी सम्हाले शाक्यले । त्यतिबेला काठमाडौँका युवाहरुलाई संगठित गर्ने, संगठनलाई कुशल ढंगले सञ्चालन गर्ने जस्ता कार्यमा उनको भूमिका उल्यख्य रहेको थियो ।
उनले कोषाध्यक्षको जिम्मेवारी सम्हाल्दा गरेको कामको मूल्याङ्कन गर्दै पार्टीले ०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनमा काठमाडौँ वडा नम्बर २१ को अध्यक्षका रुपमा अघि सार्यो र विजयी भए ।

शाक्य करिब दुई दशकदेखि नेकपा (एमाले)को काठमाडौं जिल्ला कमिटीको विभिन्न जिम्मेवारीमा रहँदै आएका थिए । शाक्यका पिता हेरारत्न शाक्य र माता मंगलशोभा शाक्यको भने निधन भैसकेको छ । हाल लगनटोलमै पत्नी सुचिता शाक्यसहित परिवारसँग बस्दै आएका शाक्यले भारत, चीन, थाइल्याण्ड, भुटान, उत्तर कोरिया, युएईलगायतका देशको भ्रमण गरिसकेका छन् ।



