सुदिप अधिकारी/झापा —पछिल्लो समय नेपालमा सुकुम्वासी समस्याले एउटा रोगकै रूप लिन थालेको छ । दिन प्रतिदिन सुकुम्वासीको संख्या बढ्दो गतिमा छ । यसको समाधानका लागि सरकारले उपयुक्त उपायको खोजी गर्न अझै सकेको छैन । जुनसुकै निर्वाचन आएपनि सुकुम्बासी बस्तीका बासिन्दा अपेक्षा राख्न भने कहिल्यै छाड्दैनन् ।
नदी किनार, मुख्य बजार आसपास, नहर वरपर अनि सरकारी वनभित्रका गन्जागोल छाप्रे बस्तीहरू देख्नेबित्तिकै सुकुम्बासी सम्झिनु सामान्य हो । सबै सुकुम्बासी नहुन सक्छन् पनि त्यसरी बस्नेहरू । सुकुम्बासीको यकिन नभई हुकुम्बासी कसरी छुट्टनिु र ? खास सुकुम्बासीलाई थान्को लगाउने नारा चुनावका बेला प्रायः दलले घन्काउँछन् । चुनावपछि जे त होला ! छटपटीमा रहेको हाम्रै समाजको यो वर्ग प्रायः राज्यसँग अपेक्षासँगै द्वन्द्वरत देखिन्छ ।
झापा कमल गाउपालिका ५ स्थित रतुवा नदि किनारमा बसोबास गरिरहेका सुकुम्बासी बलबहादुर तामाङ झण्डा बोकेर धेरै हिडेको अनुभव सुनाउछन् । तर अहिलेसम्म कसैले पनि आफ्ना मुद्धाहरुलाई बोक्न नसकेको प्रति उनको दुखेसो छ ।
भूमिका लागि पूर्वमा पनि दशकौंदेखि आन्दोलन भयो । सरकारले सुकुम्बासीलाई जग्गा दिन आयोग बनाएको बनायै गर्यो । तर उपलब्धी भने हाता लाग्यो शून्य भनेझै भयो । सुकुम्बासी संख्या घट्नुको साटो बढिरहेकै छ । समस्या समाधानका लागि राज्य गम्भीर नभएको आरोप छ बिर्तामोडस्थित अदुवा खोलाका सुकुम्बासी बस्तीका बासिन्दाको ।
झापा कमल गाउपालिका ५ मै रहेको सुकुम्बासी बस्तीमा २५ बर्षदेखि बसोबास गर्दै आएका आईतराज सेन्चुरी अब त आफ्ना माग कहिल्यै पूरा हुदैन भन्ने लागेको छ ।
राज्यसँग अपेक्षासँगै द्धन्द्धरत सुकुम्बासीहरु भनिरहेका छन् आफुहरु त दलहरूलाई सत्तामा पुग्नका लागि भर्याङ मात्रै बनाईएका छौ । जब सत्तामा पुग्छन् तब हामीलाई चटक्कै माया मार्छन । यसै भन्दैछन् झापाका सुकुम्बासीहरु । रतुवा नदि किनारमा २० बर्षदेखि बस्दै आएकी मनमाया बुढाथोकी नेताहरु देख्ने बित्तिकै आफुलाई रिस उठ्ने बताउछिन् । सुकुम्बासी भनेको भोट ब्याङ्क मात्रै हुन् र ? उनी प्रश्न गर्छिन ।
सुकुम्वासी समस्या गरिबी, जीविकोपार्जन र बसोबास सम्बन्धी समस्या हो । सुकुम्वासी बन्नु धेरैका लागि बाध्यता हो भने केहीका लागि लाभको विषय पनि बनेको छ । गास र बासका लागि सुकुम्वासी बन्ने बाध्यता पुरानै भए पनि पछिल्लो समयमा अवसरका लागि सुकुम्वासी बन्ने प्रचलन बढ्दै गएको छ । सुकुम्वासी समस्या सधैं रहिरहनु भनेको देशको आर्थिक सामाजिक विकासमा तगारो मात्र नभएर यो हरेक क्षेत्रका लागि ठूलो चुनौती समेत हो । यो समस्यालाई जति सक्दो छिटो राज्यले सम्बोधन गर्नु जरुरी छ । सुकुम्वासी समस्या समाधान गर्न सबैभन्दा पहिले बाध्यताले सुकुम्वासी बनेका र लाभका लागि सुकुम्वासी बनेकाहरूको पहिचान गर्न आवस्यक देखिन्छ ।



