नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले शिलान्यासको खेतीमात्रै गरेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले काम नभई कुरामात्रै गरेको दावी समेत गरे ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचनका सम्बन्धमा युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई काममा कुनै रुची नरहेको उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले आइतबार बिहान काठमाडौं निजगढ दु्रतमार्गको शिलान्यास गरेका थिए । सोही प्रसंग उल्लेख गर्दै अध्यक्ष ओलीले कामै नगरेर सरकारले शिलान्यासको खेतीमात्रै गरेको दाबी गरे । उनले आफ्नो पार्टीले मात्रै विकासको अभियान संचालन गर्ने दावीसमेत गरे ।
अध्यक्ष ओलीले आफ्नो पार्टीले निर्वाचनमा नजिते मुलुक अन्धकार हुने तर्क गरे । उनले एमालेको पक्षमा सबै तहका समुदाय रहेको उल्लेख गर्दै उनीहरुलाई सम्झाएर आफ्नो पार्टीको पक्षमा मत हाल्ने वातावरण बनाउन पनि युवाहरुलाई निर्देशन दिए । अध्यक्ष ओलीले जनताको हितमा काम गर्ने पार्टी एमालेमात्रै भएको दावी समेत गरे ।



