काठमाडौं, १५ जेठ— चितवनको भरतपुरमा जारी मतगणना अन्तिम चरणमा पुग्दै गर्दा गएराती विवाद भएको छ ।
मतगणनाको क्रममा एमाले र माओवादी केन्द्र बीच विवाद बढ्दै जाँदा मतपत्र नै च्यातिएपछि गणना रोकिएको छ ।
मतगणना रोकिएसँगै एमाले र माओवादी केन्द्र आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
माओवादी केन्द्रबाट भरतपुरमा मेयरको उम्मेदवार रहेकी रेणु दाहालले आफू बढ्दो क्रममा हुँदा एमालेले अनावश्यक विवाद सिर्जना गरेको आरोप लगाइन् । उनले भनिन्, ‘घटना हाम्रो कारण भएको होइन, उनीहरुकै कारण भएको हो । हामी बढ्दो क्रममा हुँदा उनीहरुले नियोजित ढंगले घटना घटाएका हुन् ।’
सुरुदेखि नै एमालेले मतगणनाका क्रममा विवाद सिर्जना गरेको आरोप लगाउँदै उनले मतान्तर घट्दा यो क्रमलाई थप तीब्रता दिएको बताइन् ।
यस्तै एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले माओवादीले हार्ने भएपछि विवाद गरेको आरोप लगाएका छन् । उनले मतगणनको क्रममा राज्यसत्ताको दुरुपयोग गरिएको समेत आरोप लगाए ।
एमालेले मतगणना स्थलमा रहेका माओवादी प्रतिनिधि ईश्वर सापकोटा र द्रोण सिवाकोटीले मतपत्र च्यातेको आरोप लगाएको छ । तर, सो अघि नै एमालेका प्रतिनिधिले विवाद गर्दा घटना उग्र बन्न पुगेको बताइएको छ ।
मतपत्र च्यातिँदा दुई पक्षबीच हात हालाहालसम्मको स्थिति बनेको थियो भने लगत्तै मतगणनास्थलमा पुगेको प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले एमालेका गंगा लामा तथा माओवादीका सापकोटा र सिवाकोटीलाई नियन्त्रणमा लिएको बताइएको छ भने अहिले मतगणनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यसैबीच घटनासँगै रोकिएको मतगणना अहिलेसम्म सुचारु हुने सकेको छैन । यो समाचार तयार पर्दासम्म मतगणना सुचारु गर्नको लागि सर्वदलीय बैठक समेत बस्न सकेको छैन। बडा नम्बर १९ को मतगणना हुँदै गर्दा यो घटना हुन पुगेको हो ।



