सर्वाधिक चासो : प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति देउवाको गठबन्धनमा प्रधानमन्त्री पुत्री रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयरमा उमेदवार भइन् ।
१५ सम्मको मतगणनापछि जित हारको फैसला हुनै लागेको थियो, राजधानीमा गणतन्त्र दिवसको तामझाम सुरु हुनैलाग्दा आधारातमा भरतपुरलाई महाभारतको कुरुक्षेत्र बनाइयो र सत्ताधारी कौरव सेना बनेर प्रस्तुत भए ।
मतपत्र च्यातियो, निर्वाचन आयोग र सुरक्षाकर्मी सत्ताको तावेदारी गर्दै मौन बसे, दुर्योधनहरुले मतपत्र धमाधम च्याते ।
यसरी १५ गते आधारातमा भरतपुरमा प्रचण्ड र देउवाको हस्तिनापुर हल्लियो । महाभारत हारे हस्तिनापुरका राजा महाराजाले ।
सबैलाई थाहा थियो, भरतपुरको १९ र २० वडाको गन्तीपछि मेयरको नतिजा आउने छ । देवी ज्ञवाली अथवा रेणु दाहाल मध्ये एकले जित्ने छन् । यति संवेदनशील समयमा सरकारले दिने सुरक्षा त्यस्तै हुन्छ ?
कति रमाइलो, निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने भन्छन् : ‘म ट्वाइलेट गएँ । त्यो भन्दा अघि सबै शान्त थियो । सौहार्दपूर्ण रुपमा मतगणना अघि बढिरहेको थियो, म दुई मिनेटमा फर्केर आउँदा मतगणना स्थल रणभूमिमा परिणत भइसकेको थियो । सबैले आफ्नो ज्यान जोगाउन भागाभाग गरिरहेका थिए । कोहीले मतपत्र च्यात्दै थिए । कसले च्यात्यो कति च्यातियो यसबारेमा म अहिले भन्न सक्दिन ।’
सत्ताका निकट निर्वाचन अधिकृत पिसाव फेर्न जाने र वाइसीएलका न्यौपाने र द्रोण सिवाकोटी मतपत्र च्यात्ने । च्यात्न रोक्ने गंगा लामालाई पनि पक्राउ गर्ने ।
सुरक्षाकर्मी यो सब तमासा हेरेर बस्ने ? अनि पछि निर्वाचन अधिकृतले सुरक्षाकर्मी गुहार्ने र मतगणना स्थललाई सिलवन्दी गरेर बाहिर निस्कने । फिल्मी प्लटजस्तो छैन त ।
प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धलाई सत्तामा रुपान्तरण गरे तर लोकतान्त्रिकरण हुनसकेका रहेछन्, स्वार्थका लागि जतिसुकै गिर्न सक्नेरहेछन् भन्ने प्रमाण हो कि होइन यो ? न्यूज अभियान बाट



