नेकपा माओवादी केन्द्रका प्रतिनीधिले मतपत्र च्यातेसँगै भरतपुर महानगरपालिकाको मतगणना कार्य रोकिएको छ । घटनाको छानविन गर्न निर्वाचन आयोगले तीन सदस्य छानविन समिति गठन गरेको छ । मतगणना अन्तिम चरणमा पुगेका बेला कसरी यस्तो घटना हुन पुग्यो ? मतगणनास्थलका प्रत्यक्षदर्शी सागर लामा भन्छन्ः
भरतपुर महानगरपालिकामा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पुत्री रेणु दाहाल मेयर पदमा चुनाव लडेकीले विशेष महत्वको रहन पुग्यो । सांगाठानिक हिसाबले नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रतिश्पर्धा हुनुपर्नेमा कांग्रेसले माओवादीलाई सघाएपछि माओवादीसँग स्पर्धा भयो ।
तर, दुई दल मिल्दा पनि एमालेका देवी ज्ञवालीले लगातार अग्रता लिइरहे । बीच–बीचमा रेणुले झिनो अग्रता लिइन्, तर त्यो अग्रता टिकाउन सकिनन् । २९ वडा मध्ये २७ वडाको गणना सकिदा समेत ज्ञवाली ७८४ मतले अगाडि थिए ।
माओवादीको आशा वडा नम्बर १९ र २० मा थियो । वडानम्बर १९ मा माओवादीले ज्ञवालीको अग्रता ३०० मतसम्म घटाउनसक्ने आँकलन गरेको थियो । तर, त्यस्तो भएन । २८०० मत खसेको १९ नम्बरको गणना १२ सकिदा केबल २९ मत मात्रै रेणुले घटाइन् । यसपछि माओवादी हच्कियो । तर, कांग्रेसका वडाध्यक्षले तीन सय बढी मतले अग्रता लिइरहेकाले कांग्रेस मौन थियो ।
१८ सय गणगणना सकिँदा ५१ मत मात्रै रेणुले घटाइन् । यसपछि रेणु उठेर हिडिन् । कहिल्यै मतगणनामा सामेल नभएकी रेणु पहिलो दिन आएकी थिइन् । रेणुसँगै, मतगणना रोकेर सबै खाना खानतिर लागियो । त्यसबेला करीब ८ बजेको हुनुपर्छ ।
खाना खान गएका माओवादी र कांग्रेसका प्रतिनीधिहरू एक घण्टासम्म आएनन् । यसबीचमा माओवादी निकट अखिल क्रान्तिकारीका जिल्ला सचिव प्रकाश कडेलले अब मतपत्र च्यातिन्छ भन्ने थालेँ ।
खाना खाने ब्रेक लिनु अघि नै माओवादीका प्रतिनीधि एवम् मजदुर नेता अनक महर निहूँ खोजिरहेका थिए । बेलुका ८ बजेपछि कहिल्यै नबसेका कांग्रेसका जिल्ला सभापति दिपनारायण श्रेष्ठ पनि त्यसदिन खानापछि समेत मतगणनामा आए ।
खानापछि माओवादीले नयाँ पाँच जनालाई समेत मतगणनास्थलमा छिराउन खोजे । एमाले र प्रहरीबाट रोक्ने प्रयास भयो । तर, माओवादीका नेताहरुले धम्क्याउन थालेपछि भित्र छिर्न दिइयो ।
हामी संशकित भयौं । स्थानीय प्रहरी र न्यायाधीशलाई यसबारे जानकारी गरायौं । केन्द्रमा केपी शर्मा ओली, प्रदिप ज्ञवाली र गोकर्ण बिष्टलाई घटनाबारे जानकारी गरायौं ।
मतगणना शुरु भयो । २४ मत गणना सकिदा रेणुको ७० मत मात्रै बढी भयो । यसपछि, माओवादी प्रकाश अर्यालले पुनःगणना हुनुपर्छ भन्न थाले । लगत्तै माओवादीका अनक महर करायो । द्रोण सिवाकोटीले मतपत्र च्यात्न थालिहाले ।
प्रकाश कडेँल र मधु नेपाल पनि आ–आफ्नो समूह छाडेर आए अनि मतपत्र च्यात्न थाले । हामीले रोक्ने प्रयास ग¥यौं । प्रहरीले सिवाकोटी, कडेँल र नेपाल तीनै जनालाई नियन्त्रणमा लियो । तर, प्रकाशलाई छोडेछ ।
अहिले बाँकी मतपत्र लाहाछाप गरेर गणना स्थगित गरिएको छ, छानविनको काम शुरु भएको छ । कांग्रेसको बलियो रहेको वडामा कांग्रेसका वडाका उमेद्वारहरु जित्ने तर, मेयरमा भने देवी ज्ञवालीलाई नै मत आएपछि माओवादीले योजनाबद्ध रुपमा मतपत्र च्याते ।



