काठमाडौं, १८ असोज । बडादशैंमा यात्रुहरुको चापलाई मध्यनजर गर्दै नेपाली सेनाले काठमाडौं उपत्यका बाहिर जाने यात्रुहरुका लागि बस सेवा सञ्चालन गरेको छ ।
मंगलबारदेखि नै सेनाले दशैंका यात्रु ओसार्न बस सञ्चालन गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । काठमाडौबाट उपत्यका बाहिर मंगलबारदेखि शुरु गरिएको बस सेवा असोज २३ गतेसम्म सञ्चालन हुनेछ ।
सेनाको बस सेवा काठमाण्डौंबाट इटहरी, हेटौडा, दोलखा, रामेछाप, चौतारा, त्रिशुली, धादिङ्ग, बुटवल, पोखरा, धनगढी र नारायणगढसम्म जाने र आउने ब्यवस्था गरिएको छ । ती बसहरु प्रत्येक दिनको विहान ६ बजे छुट्ने जनाइएको छ ।
दशैं विदामा घर जाने सेनाको सबै दर्जाका तथा उनीहरुका आश्रित परिवारका चार जनालाई एउटा बसमा निःशुल्क यात्रा गर्ने ब्यवस्था मिलाइएको पनि सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
त्यसैगरि, महानवमीदेखि एकादशीसम्म ( असाेज आश्विन २४ गतेदेखि २६ गतेसम्म) काठमाण्डौं उपत्यकाभित्र सैनिक तथा आम नागरिकका लागि ८ वटा छुट्टा–छुट्टै रुटहरुमा बस सेवा सञ्चालन हुने पनि निर्देशनालयले जनाएको छ ।
सेनाले उपत्यकामा प्रत्येक दिन ६ बजे, ११ बजे र १६ बजे भद्रकालीबाट ३० सिट क्षमताको एक एक वटा बस निःशुल्क संचालन गर्ने भएको छ ।



