पाेखरा । पोखरा लेखनाथ महानगरपालिकाका मेयर, उपमेयरले पदभार ग्रहण गरेलगत्तै वृद्धा भत्ता बढाउने निर्णय गरेका छन् । वृद्धाभत्ता बढाउने घोषणापत्रमै उल्लेख गरेर चुनावी प्रचार गरेको कास्की एमालेले निर्वाचित मेयर, उपमेयरबाट वृद्धाभत्ता वृद्धिलाई नै प्राथमिकतामा राखेर निर्णय गराएको हो ।
आइतबार मेयर मानबहादुर जिसी र उपमेयर मञ्जु गुरुङले १० प्रतिशत वृद्धाभत्ता वृद्धि गर्ने लगायत ३ निर्णय गरे । महानगरपालिकाभित्रका ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई सरकारले प्रदान गरेको वृद्ध भत्ताको रकममा १० प्रतिशत थपेर प्रदान गर्ने निर्णय भयो ।
६० वर्ष नाघेपछि वृद्धभत्ता पाउने दलित ज्येष्ठ नागरिक भने यो सेवाबाट बञ्चित हुनेछन् । यो सुविधा पाउन दलित ज्येष्ठ नागरिक ७० वर्ष नाघेको हुनुपर्ने देखिएको छ ।
यो निर्णय आर्थिक वर्ष २०७४-७५ को साउनदेखि लागू हुनेछ । मेयर मानबहादुरले भने, ‘वृद्धाभत्ता २ हजार रुपैयाँमा न्यूनतम १० प्रतिशतमात्रै बढाउँदा महानगरको इज्जत र सम्मान बढ्ला भनेर बढाएका हौं ।
आन्तरिक स्रोतबाटै यसको व्यवस्थापन गर्ने हो ।’ पोखरा महानगरमा १३ हजार १ सय ७ ज्येष्ठ नागरिक छन् । ज्येष्ठ नागरिकले प्रतिमहिना पाउने २ हजार रुपैयाँको १० प्रतिशत २ सय रुपैयाँ हुन आउँछ ।
जस अनुसार प्रतिमहिना २६ लाख २१ हजार ४ सय रुपैयाँ र प्रतिवर्ष ३ करोड १४ लाख ५६ हजार ८ सय रुपैयाँ पोखरा लेखनाथ महानगरलाई आर्थिक भार थपिन्छ ।
सेवाग्राहीलाई महसुस हुने गरी १० दिनमा सेवा प्रभावकारी बनाउने निर्णय भएको छ । हिंसा पीडित महिला तथा महिलाका समस्या समाधानका लागि निशुल्क कानुनी परामर्श सेवा प्रदान गर्ने निर्णय गरिएको उपमेयर मञ्जु गुरुङले बताइन् ।
महानगरबाट प्रदान गरिने सेवालाई झन्झटमुक्त बनाउने मेयर जिसीले प्रतिवद्धता गरे । ‘१ नम्बर निर्णयमै १० दिनभित्र प्रत्याभूति हुने गरेर काम गर्ने भनेका छौं,’ उनले भने, ‘हुने कामलाई तत्काल र नहुने काम के कारणले नहुने हो लिखित रुपमा स्पष्टिकरणसहित दिने पद्धति सुरु हुन्छ ।’
उपप्रमुख मञ्जुले न्यायिक समिति हेनुपर्ने भएकाले कानुनी उपचारका लागि महिलामैत्री, बाल तथा ज्येष्ठ नागरिकमैत्री, अपांगतामैत्री महानगर बनाउन तत्काल काम थाल्ने मञ्जुले प्रतिवद्धता जनाइन् ।
आइतबार पोखरा लेखनाथ महानगरपालिकामा निर्वाचित मेयर, उपमेयरसहित ३३ वटै वडाका पदाधिकारीले सपथलगत्तै पदभार ग्रहण गरे । महानगरपालिकाका सबै वडाका पदाधिकारीलाई प्रमाणपत्र वितरण गरी सपथ गराइएको हो ।
सपथ लिएर महानगर पुगेका मेयर, उपमेयरलाई कर्मचारीले स्वागत गरे । उनीहरु प्रवेश गरेलगत्तै प्राङ्गणमा विरुवा रोपेर पदभार ग्रहणका लागि कार्यकक्ष गए ।
कार्यकारी अधिकृत दीर्घनारायण पौडेल लगायतका कर्मचारीले कार्यकक्षमा स्वागत गरेपछि पहिले मेयर र पछि उपमेयरले आफ्नो कार्यकक्षको कुर्चीमा बसेर पदभार ग्रहण गरेका हुन् । बाबुआमाले माला लगाइदिएर मेयरल जिसीलाई बधाइ दिए ।
जिल्ला समन्वय समितिस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचित जनप्रतिनिधिलाई सपथ खुवाइएको थियो । प्रमुख निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जनप्रतिनिलाई सपथ खुवाए भने क्षेत्रीय प्रशासक यमकुमारी खतिवडालगायतले प्रमाणपत्र वितरण गरे ।
महानगरमा १ सय ६७ जनप्रतिनिधि चुनिएका छन् । निर्वाचित प्रतिनिधिले दलित तथा अल्पसंख्यक समुदायबाट ३ जना मनोनित गरेपछि १ सय ७० जनाको नगरसभा र ३९ जनाको नगर कार्यपालिका गठन हुनेछ । समाधान दैनिकबाट ।



