सरकारले असार ९ गते हुने भनेको दाश्रो चरणको निर्वाचनको मिति फेरी सार्ने गृहकार्य शुरु गरेको छ । असार १३ र १४ गतेमध्ये एकदिन तोक्ने तयारी भएको श्रोतको भनाइ रहेको छ ।
यद्यपि यसको निर्णय बुधबार मन्त्रिपरिषदको बैठक गरिने बालुवाटार श्रोतको भनाइ रहेको छ । यसभन्दा अगाडि असार १३ गते तोकिने बिभिन्न सञ्चारमाध्यमहरुमा सार्वजनिक भएपनि रमजान १३ गते नै सकिने भएकाले १४ गते तोक्नु पर्ने राय धेरै तिर आएकाले सम्भवत असार १४ गते नै तोकिने बालुवाटार श्रोतको भनाइ छ ।
प्रस्तावित मिति-असार १४
प्रधानमन्त्री प्रचण्डले मंगलबार नै निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन् । भेटमा प्रधानमन्त्रीले राजनीतिक सहमति खोज्ने प्रयास जारी रहेको र रमजान परका कारण मिति केही दिन सार्न राय मागेका थिए ।
आयोगका पदाधिकारीहरुले सकारात्मक परामर्श दिएको निर्वाचन आयोगले जनाएको छ । स्रोतका अनुसार निर्वाचन आयोगले रमजान १३ गते सकिने भन्दै त्यसपछि चुनाव गर्न सुझाएको छ । तर, १५ गते धान दिवस रहेको र त्यसपछि लैजाँदा मध्यवषर्ा हुने भन्दै आयोगले घुमाउरो शैलीमा १४ गते प्रस्ताव गरेको छ ।
आयोगको प्रस्तावमा प्रधानमन्त्री प्रचण्ड पनि सहमत देखिएको भेटमा सहभागी एक आयुक्तले बताएका छन् । यो भेटमा कांग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि पनि सहभागी थिए । यद्यपि माओवादीका नेताहरु असार ८ गते नै चुनाव गर्न उपयुक्त हुने सुझाव प्रधानमन्त्रीलाई दिएका छन् ।
एक नेताले भने, ‘धेरै पछि लैजाँदा मनसुनका कारण चुनाव सम्भव हुँदैन । त्यसैले ८ गते गर्नुपर्छ भनेका छौं ।’ यसबारे कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा समेत अनौपचारिक छलफल भएको थियो । त्यहाँ उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले भने असार १४ गते गर्नुपर्ने मत राखेका थिए ।



