प्रमुख प्रतिपक्षी नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुचारु गर्न माग गर्दै व्ययवस्थापिका–संसद बैठक अवरुद्ध गरेको छ ।
एमालेले आफ्ना उम्मेदवार देवी ज्ञवाली निर्वाचित हुने निश्चित भएपछि माओवादी केन्द्रका दुई कार्यकर्ताले मतपत्र च्यातेको भन्दै रोकिएको मतगणना तत्काल थाल्न माग गरेको छ । अन्यथा आफ्ना उम्मेदवार ज्ञवालीलाई सडकबाटै विजयी घोषणा गर्ने चेतावनी एमालेले दिएको छ ।
संसद बैठक सुरु भएलगत्तै बालेका एमाले सांसद सुरेन्द्र पाण्डेले पुनः निर्वाचन आफूहरुलाई स्वीकार्य नरेहको बताए । ‘भरतपुरको मतगणना तत्काल सुरु गरियोस’, पाण्डेले भने, ‘अन्यया पुनः निर्वाचन गराउने जस्ता कुरा भए हामी देवी ज्ञवालीलाई विजयी घोषणा गर्न बाध्य हुनेछौं ।’
उनले भरतपुरमा माओवादीले गरेको क्रियाकपाल सार्वभौम जनताको अधिकारमाथिको बलात्कार भएको आरोप लगाए । पाण्डेले भरतुरमा निर्वाचन दोहोरिए बाँकी ४ प्रदेशमा निर्वाचन हुनै नसक्ने बताए । ‘पुनः निर्वाचन गराउने हो भने जहाँ जसले हार्छ त्यहाँ मतपत्र च्यातिदिने संस्कार बस्छ’, पाण्डेले भने, ‘त्यसो भयो भने निर्वाचन आयोगको काम पाँच वर्षसम्म निर्वाचन गराइरहने हुन्छ ।’
संसदमा आर्थिक वर्ष २०७४/०७५ को बजेटमाथिको दफावार छलफल गर्ने कार्यसूची थियो । एमालेको अवरोधपछि सभामुख ओनसरी घर्तीले बिहीबारसम्मका लागि संसद बैठक स्थगन गरेकी छन् ।



