भरतपुर । अन्तत प्रधानमन्त्री पुष्पकमल दाहालको चाहना बमोजिम भरतपुर महानगरको १९ नम्बर वडामा पुन मतदान हुने भएको छ । सो महानगरमा प्रधानमन्त्रीकी छोरी रेणु दाहाल मेयर पदमा उम्मेदवार भएकी छिन् ।
१९ नम्बर वडाको मतगणना सकिन लाग्दा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेका थिए । सो उपर निर्णय दिँदै निर्वाचन आयोगले पुन मतदानको निर्णय गरेको हो ।
पुन मतदानको निर्णय आउनासाथ भरतपुरमा स्थानीयवासीले कडा आक्रोश पोखेका छन् । खासगरी १९ नम्बर वडाका मतदाताहरुले सडकमा निस्किएर पुन मतदानको विरोध गरेका छन् । उनीहरुले पुन मतदान नगरेर मतगणना गर्न माग गरेका छन् ।
भरतपुर १९ का प्रेम दाहाल भन्छन्,- ‘म कांग्रेसको मतदाता हूँ, अस्ति चुनावमा रेणुलाई भोट दिएको थिएँ, अब कुनै हालतमा दिन्न । पुन मतदान गर्ने निर्णयको विरुद्धमा कांग्रेस समर्थक मतदाताहरु पनि उत्रिएका छन् ।’
प्रधानमन्त्री दाहालले हार्न लागेकी आफ्नी छोरीलाई जसरी पनि जिताउन पुन मतदान गराउन निर्वाचन आयोगलाई दवाब दिँदै आएका थिए । यो कुरा थाहा पाएर एमालेले पुन मतदान नगराउन भन्दै मतगणनाको माग गरेको थियो । माओवादी केन्द्रले भने पुन मतदानको माग गरेको थियो ।
मतगणना जारी रहेको भए रेणुको पराजय सुनिश्चित जस्तै बनिरहेको थियो । यही कारण माओवादीका प्रतिनिधिहरुले मतपत्र च्यातेका थिए । पुन मतदान गराउने माओवादीको मागलाई नेपाली कांग्रेसले समेत समर्थन गरेको छ । प्रधानमन्त्री पुत्री दाहाललाई कांग्रेसले समेत समर्थन गरेको छ । एमालेले यहाँ देवी ज्ञवालीलाई उम्मेदवार बनाएको छ र मतपत्र च्यातिएको बेलासम्म उनको विजय करिबकरिब सुनिच्ति जस्तै भएको थियो ।
पुन मतदान गराउने निर्वाचन आयोगको निर्णयलाई प्रतिपक्षी एमालेले लोकतन्त्रको उपहास भनेको छ । एमाले नेतृ शान्ता चौधरी भन्छिन्, ‘सत्तापक्षले निर्लज्ज काम गरेको छ । पुन मतदान गराउनकै लागि माओवादीका प्रतिनिधिहरुले मतपत्र च्यातेका हुन् । अब भरतपुरको १९ नम्बर वडामा राज्यसत्ताको चरम दुरुपयोग हुने निश्चित छ । हारेको उम्मेदवारलाई जिताउन भरतपुरमा जे गर्न लागिएको छ, त्यसले चुनाव र लोकतन्त्रको धज्जी उडाएको छ ।’
शान्ता भन्छिन्, ‘प्रधानमन्त्री पुष्पकमल दाहालज्यूले आफ्नी छोरी रेणुलाई मेयर बनाइछाड्ने हो भने बरु मेरी छोरीलाई मेयर पद उपहार दिनुपर्यो भनेर खुलेआम भने हुन्छ । त्यसो भन्नुभयो भने इमानदारी झल्कन्छ तर अहिले जे गरिँदैछ त्यसलाई बेइमानीको पराकाष्ठा भन्न सकिन्छ । खोई कुन्नि केलाई भन्दा देख्नेलाई लाज भनेजस्तो गरियो भरतपुरमा ।’ शान्ताले भरतपुरमा पुन मतदान नेकपा एमालेलाई अस्वीकार्य भएकाे बताइन् ।
आठै प्रहर बाट साभार



