काठमाडौँ, २२ जेठ । ‘धूमकेतु जोनसन’ नामको धूमकेतु पृथ्वीसँग पहिलो र अन्तिमपटक सोमबार अहिलेसम्मकै नजिक आउने भएको छ ।
यो धूमकेतु जेठ २२ गते सोमबार पृथ्वीको सबैभन्दा नजिक आउने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको छ । खबर आजको गोरखापत्र दैनिकमा छापेको छ ।
सोमबार पृथ्वीको सबैभन्दा नजिक आउने यो धूमेकतुले पृथ्वीसँगको पहिलो र अन्तिम साक्षात्कार गर्नेछ ।
क्षुद्र ग्रह र धूमकेतु सौर्यमण्डलको उत्पत्तिका अवशेष भएकाले यी पृथ्वीको नजिक आउँदा खगोलशास्त्रीका लागि पृथ्वीलगायत समग्र सौर्यमण्डलको थप अध्ययन अनुसन्धान गर्ने अवसर हुने नासोका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो । “यो धूमकेतु हाइपरबोलिक भएको हुनाले फेरि पृथ्वी नजिक आउने छैन ।
पृथ्वीको सबैभन्दा नजिक रहँदा यो लगभग १२, १३, ३९, ७८६ किमि (०.८११ खगोलीय एकाइ)को दूरीमा रहनेछ,” अध्यक्ष भट्टराईले भन्नुभयो । उहाँले पृथ्वीदेखि सूर्यसम्मको दूरीलाई खगोलीय भाषामा १ खगोलीय एकाइ भनिने जानकारी पनि दिनुभयो ।
यस दुर्लभ खगोलीय घटनालाई नजिकबाट हेर्न चाहनेका लागि नासोले सोमबार जेठ २२ गते साँझ अङ्कुर विद्याश्रम विजयचोक, गौशालामा निःशुल्क अवलोकनको व्यवस्था गरेको छ ।
सो अवलोकन कार्यक्रममा पृथ्वीको चन्द्रमा, वृहस्पति ग्रह र यसका चार चन्द्रमाको पनि अवलोकन गराइने नासोका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।



