नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुर महानगरपालिकामा सत्तपक्षले बल प्रयोग गरेर प्रायोजित ढंगले काम गरेको बताएका छन् ।
व्यवस्थापिका–संसद्को बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “एक चौथाइ मत गणना बाँकी रहँदा एमाले मेयरका उमेदवार देवी ज्ञवालीले ७४४ मतको अग्रता कायम गर्नुभयो । त्यसबेला मतपत्र च्यातियो । त्यसको योजना कहाँ बन्यो, क–कसको संलग्नता रह्यो त्यहाँसम्म जान चाहन्नँ,” उनले भने, “तर त्यहाँ सत्तापक्षकै उमेदवार रेणु दाहालका प्रतिनिधिले उफ्रिएर गएर मतपत्र च्याते । उनीहरुलाई तत्काल प्रहरीले नियन्त्रणमा लियो तर मतगणना सुचारु भएन अत्यन्त प्रायोजित ढंगले अघि बढाउने काम भयो । पुनः मतदान गराउने प्रयास भए । त्यसले नभएको परिस्थिति उत्पन्न भयो भन्ने र केही मतपत्र च्यातिनेवित्तिकै मतगणना केन्द्र कब्जामा गयो भन्ने प्रायोजित कुरा गरियो । त्यो लोकतन्त्रका लागि अत्यन्त डरलाग्दो कुरा हो । सत्तापक्ष हार्न तयारै छैन । को उमेदवार भएको ठाउँमा हारजित हुन नपाइने हो । कसलाई हराउन नपाइने हो प्रतिपक्षलाई पनि बताइदिनुहोला । हामी पनि त्यहीअनुसार माइन्डमेकअप गथ्र्यौं । कसलाई हराउन हुँदैन, कसले हार्न हुँदैन हामीलाई पनि बताइदिनुहोला ।”
उनले त्यहाँ कब्जा नहुँदा पनि जबरजस्ती कब्जा भयो भन्ने पारिएको बताए । “मतपत्र कसले च्यात्यो ? सरकारले भनेको छ । सरकारले मुद्दा लगाएको छ । हामीले थाहा पाएको सरकारबाटै हो । सरकारपक्षकै मान्छेले मतपत्र च्यातेको छ,” उनले भने ।
उनले जिल्ला निर्वाचन अधिकृतले नै षडयन्त्र गरेको आरोप लगाए । “मतपत्र च्यातियो भने कानुनअनुसार उपचार हुन सक्थ्यो तर मुख्य निर्वाचन अधिकृतबाटै षडयन्त्र सुरु भएको देखिन्छ,” उनले भने,“घटनाक्रमको गलत मोड मुख्य निर्वाचन अधिकृतबाटै लिएको छ । उहाँले गलत मोडमा सुरुदेखि नै घटनालाई लैजान लागेको देखिन्छ ।” उनले च्यातिएका मतपत्र एमालेकै भएको मान्छौं भन्दा पनि नभएको बताए ।
“च्यातिएका मतपत्र एमालेका भए पनि हामीले मान्छौं भनेर भन्यौं । कति कति मतपत्र बदर हुन्छन् तर गणना हुन्छ,” उनले भने, “आफु सत्तामा र सरकारमा सहभागी हुने मुख्य बाटो हो मतदान । जनताका फैसला के रहेछ भनेर प्रकट गर्ने कुरा हो । त्यस्तो मतदानलाई र त्यसको रक्षा गर्ने काम जसको हो उसैतिरबाट व्यवधान भएको छ । प्रतिनिधिले गरेको हो मैले गरेको छैन भन्न पाइँछ ? त्यसप्रति उत्तरदायि हुन पर्छ कि पर्दैन ?” यो कुरा गर्दा सत्तापक्षका माननीयलाई हाँसो लाग्न सक्ने उनको भनाई थियो ।
ओलीको देउवालाई प्रश्न–मतपत्र च्यातियो, तपाईँको धारणा के छ ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महत्वपूर्ण विषयमा आजकल कांग्रेस बोल्न छाडेको बताएका छन् ।
संसद्मा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“भरतपुरमा मतपत्र च्यातियो माननीयज्यु, तपाइँले के भन्नुहुन्छ ? भनेर मैले शेरबहादुरजीलाई सोधें,” ओलीले भने,“उहाँको जवाफ थियो ‘थाहै छैन’ । बुझ्न त पाउनुपर्यो नि ? भन्नुहुन्छ ।”
ओलीले थप अघि भने, “तपाइँको पार्टीको दृष्टिकोण के हो ? भनेर मैले फेरि सोधें,” ओलीले भने, “नेपाली कांग्रेसको मुखमा बोल बोल मछली मुखमा पानी जस्तो भयो । कांग्रेस आजकल धेरै कुरामा बोल्न छाडेको छ । बेठिक भयो भनेर कांग्रेसले भन्न किन सक्दैन ? कांग्रेसप्रति शुभेच्छा मात्रै प्रकट गर्न सक्छु ।”
उनले माओवादी केन्द्रका नेताबाट पनि त्यस्तै जवाफ पाएको बताए । “मैले माओवादी केन्द्रका नेतासँग पनि सोधें, उहाँको जवाफ थियो–कानुनअनुसार गर्नु भनेको छु ।” “मतपत्र च्यात्नेलाई खादा लगाएर स्वागत गरिन्छ कुनै महान काम गरेजस्तो,” ओलीले भने, “कारवाही गर्नुपर्ने ठाउँमा सम्मान गरिन्छ ।”



