मतपरिणाम नेकपा एमालेको पक्षमा आइरहेको अबस्थामा माओवादी केन्द्रका एजेन्ट प्रकाश कँडेल, मधु न्यौपाने, दिलीप लगायतका व्यक्तिहरुले मतपत्र च्यात्ने निन्दनीय कार्य भयो । सुनियोजित ढंगले मतपत्र च्यात्न लगाइयो । निर्वाचनमा हार हुन लागेपछि मतपत्र च्यात्न लगाएर लोकतान्त्रिक अभ्यास र प्रणालीलाई तोड्ने एउटा दुःखद घृणास्पद र लज्जास्पद क्रियाकलाप सत्तारुढ पार्टीका कार्यकर्ताहरुबाट भएको छ । बर्बर, तानाशाही र जंगली क्रियाकलाप यहाँ देखियो ।
१९ नम्बर वडाको ७५ प्रतिशत गणना भइसकेको थियो । २० नम्बर वडाको बाँकी छ । जसमा सूर्य चिन्हले अत्याधिक मत प्राप्त गरेको अबस्था देखेपछि सत्तारुढ दलका उम्मेदवारले हारलाई स्वीकार गर्न नसकेर मतपत्र च्यात्ने जंगली कार्य भएको छ । यो प्रधानमन्त्री समेत रहेका सत्तारुढ दल माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा भएको हो ।
मान्छेहरु पहिल्यै आंशका गरिरहेका थिए । माओवादी र काँग्रेसले हार्दैछन्, षडयन्त्र गर्दैछन् मतपत्र च्यात्दैछन् तेजाब खन्याउँदैछन् भन्ने खालका कुरा हामीले सुनेका थियौँ । तर, यस्तो घृणित काम त के गर्लान भन्ने लागेको थियो । तर आज व्यवहारबाट यो कुरा प्रमाणित भयो । अब हामीलाई डर लागिरहेको छ ।
हामीले पटकपटक प्रहरी प्रशासनलाई खबर गर्यौं । सूचना दियौं । तर, सूचना दिँदादिँदै पनि तिनै मान्छेहरु एउटा दलको एजेण्ट बन्ने, निर्वाचन परिणाम आफ्नो पक्षमा नआएपछि मतपत्र च्यात्ने जस्ता निन्दनीय र घृणित कार्यहरु भए । प्रहरीले पनि खास चासो लिएको देखिएन् । यस्तो कुरा भन्नुपर्दा म आफै दुखित छु ।



