पर्सा-पछिल्लो केही महिनादेखि नेपालमा खाने तेलको मुल्य अस्वभाविक रुपले बढ्दै गएको छ। बितेका दुई/तीन महिनाको अन्तरालमा देशमा आम उपभोक्ताहरुले खानामा प्रयोग गर्दै आएको तेलको मुल्य बढेपछि आम उपभोक्ताहरु मारमा परेका छन्।
खाना पकाउनको लागि प्रयोग गरिने विभिन्न ब्रान्डका खाने तेलको मूल्य अस्वभाविक रुपले बढी हुदा उपभोक्तासँगै खुद्रा बिक्रेता पनि मर्कामा परेका छन्।
पछिल्लो केही महिना यता पटक पटक गरी खाने तेलको मुल्य बढेको छ।अहिले वीरगन्ज लगायतका बजारहरुमा पाइने सन फ्लावर,रानी,फेमिली तथा रिफाइन्ड तेलको मुल्यमा २० देखि ५० रुपैयाँसम्म वृद्धि भएको छ।
दुई महिना अघिसम्म आधा लिटरको प्याकेट रु ८५ मा बिक्री वितरण हुँदै आएको फेमिली ब्रान्डको खाने तेलको मुल्य अहिले बढेर रु एक सय १० पुगेको छ। यस्तै रानी ब्रान्डको आधा लिटरको एक प्याकेट तेल पहिले सयमा बिक्री हुँदै आएकोमा अहिले भने त्यसको खुद्रा मूल्य २० रुपैयाँ बढेर एक सय २० पुगेको छ।
त्यसैगरि रिफाइन्ड तेलको मुल्य पनि प्रति प्याकेट रु ३० रुपैयाँले बढी भएको छ। पहिले उक्त तेल प्रति प्याकेट रु ६५ मा बिक्री हुँदै आएकोमा अहिले त्यसको मुल्य बढेर रु.९५ भएको छ।यसरी खाने तेलको मुल्यमा वृद्धि भए पनि आम उपभोक्ताहरुले बढी मूल्य तिरेर भएपनि दैनिक भान्सामा प्रयोग हुने खाने तेल किन्न बाध्य भएका छन्।
तेलको मूल्य बढदा खुद्रा ब्यवसायीहरु पनि यसको नाकारात्मक असर खेपिरहेका छन्।गएको दुई तीन महिनामा पटक पटक गरि अहिले हरेक खाने तेलमा २० देखि ५० रुपैयाँ सम्म मुल्य बढेको बीरगन्ज महानगरपालिका किराना खुद्रा ब्यावसायी रामबाबु साहले जानकारी दिए।उनले खाने तेलको मूल्य पछिल्लो समय बढ्दै एपछि पसलमा आउने उपभोक्ताहरुले पनि बढेको मुल्य तिर्न आनाकानी गर्ने गरेको बताए।
‘पछिल्लो केही महिना यतादेखि प्रति प्याकेट कहिले ५ रुपैयाँ कहिले १० रुपैया थपिदै खाने तेलको मुल्य बढेको छ,उनले भने,उपभोक्ताहरु पनि पटक पटक मुल्य किन बढेको छ भनेर सोध्छन्, यसले हामी खुद्रा व्यवसायीहरु पनि मर्कामा परेका छौं।’ खाने तेलको मुल्य कसरी बढी रहे छ भन्ने बिषयमा सम्बन्धित निकायले छिटो चासो देखाइ मुल्य नियन्त्रण गर्नु पर्ने साहको भनाइ छ।
आफूले प्रयोग गर्दै आएको फेमिली ब्रान्डको खाने तेलको मूल्य पछिल्लो समय रु १५ प्रति प्याकेट बढेको वीरगन्जका उपभोक्ता मायालाल हजराले बत।
उनले पहिले ८५ रुपैयामा पाउने गरेको उक्त खाने तेल कोरोना महामारीको बेला लक डाउनमा ९० रुपैयाँ सम्म भएको र अहिले आएर त्यसको मुल्य थप १० रुपैयाँ वृद्धि भएर १०० रुपैयाँ भएको जानकारी दिए।
यसरी महिने पिछे खाने तेलको मुल्यमा वृद्धि हुदा आफूहरु मध्यम वर्गका परिवारहरु बढी मारमा परेको हजराले गुनासो गरे।‘पहिले ८५ रुपैयाँमा मैले किन्दै आएको फेमिली ब्रान्डको आधा लिटर प्याकेट तेलको मूल्य,अहिले फेरि बढेर १०० पुगेको छ,उनले भने।
’नेपालका मानिसहरुले अहिले तोरीको तेल भन्दा पनि सन फलावर तेल,भटमासको तेल प्रयोग गरिरहेको तथा उक्त तेलको कच्चा पदार्थ बिदेशबाट आउने भएकाले मुल्य बढन गएको नेपाल उधोग बाणिज्य सँघका केन्द्रिय सदस्य सुबोध गुप्ताले बताए।
उनले विदेशमा नै कच्चा पदार्थको मुल्य बढेको कारणले पनि नेपालमा खाने तेलको मुल्य बढेको जानकारी दिए।नेपालमा भएका तेल उद्योगीहरुले आफनो मनोमानी तरिकाले तेलको मुल्य नबढाएको नेपाल चामल,दाल,तेल उत्पादक संघको केन्द्रिय अध्यक्ष समेत रहेका गुप्ताको दाबी थियो।
‘अहिले नेपालमा प्राय सबैले सन फलावर र भटमासको तेल खाने गरेका छन’, यसको कच्चा पदार्थ विदेशबाट आयात गरिन्छ,उनले भने,बिदेशबाटै आयात भएपछि उतै कच्चा पदार्थको मुल्य बढदा यता पनि तेलको मुल्य बढेको हो,यसमा उद्योगीले आफनो मनले मुल्य बढाएका छैनन्।
’अहिले देशमा तोरीको उत्पादन पनि कम मात्रामा उत्पादन भइरहेकोले तोरी पनि विदेशबाटै आयात गर्नु पर्ने बाध्यता नेपालमा रहेको उनको भनाइ छ।



