दमक/ नेकपा नेतृ रामकुमारी झाक्रीले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको युग सकिएको बताउनु भएको छ । आज प्रधानमन्त्री ओलीकै गृहनगर दमकमा प्रचण्ड–नेपाल समुहले आयोजना गरेको नगर स्तरीय भेलामा सम्बोधन गर्दै नेतृ झाक्रीले यस्तो बताउनु भएको हो ।
नेतृ झाक्रीले ओलीले पार्टी फुटाइसकेको धारणा समेत राख्नु भयो । उहाँले झण्डा र चुनाव चिन्ह महत्वपूर्ण नभएको भन्दै केपी ओली तानाशाह भएको बताउँदै विद्रोहको झण्डा यहीँबाट उठाउनुस भन्दै कार्यकर्ताहरुसँग अपील समेत गर्नुभयो । त्यस्तै नेतृ झाक्रीले प्रधानमन्त्री ओलीलाई धमीरा लागेको बुढो रुखको संज्ञा दिदैँ धमीरा लागेको बुढो रुख ढल्न लागेको र सोबाट बच्न बाहिर निक्लिन नेता कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभयो ।
नतृ झाक्रीले ओलीले जनताको बहुदलीय जनवादको सौदाबाजी गरेको पनि बताउनु भयो । सम्बोधनको अधिकांश समय ओलीको विरोधमै खर्चनु भएकी नेतृ झाक्रीले राष्ट्रपतीलाई संसद विघटन गर्ने अधिकार नभएको भन्दै राजनीति गर्नेभए सबै सुविधा छोडेर निर्वाचनमा आउन चुनौती समेत दिनुभयो ।
उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी चुनावमा आए आँफू भण्डारीसँगै चुनाव लड्ने ठोकुवा समेत गर्नुभयो । त्यस्तै नेतृ झाक्रीले पुर्व माओवादी र पुर्व एमाले भन्ने कुरा त्यागेर अघिबढ्नु पर्ने धारणा समेत राख्नु भयो । नेकपाका नगर सचिव संकर बस्नेतको अध्यक्षतामा भएको सो भेलामा ५ सय ५१ सदस्यीय नगर संघर्ष समिति समेत घोषणा गरिएको छ । युवा नेता महेश घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रममा रवीन कोईराला र नेतृ धर्मशीला चाँपागाईले पनि सम्बोधन गर्नुभएको थियो ।



